स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरी–११ स्थित भानु माध्यमिक विद्यालयमा ८ कोठे नयाँ भवनको शिलान्यास

इटहरी | सुनसरीको इटहरी उपमहानगरपालिका–११ स्थित भानु माध्यमिक विद्यालयमा दुईतले ८ कोठे नयाँ शैक्षिक भवनको शिलान्यास गरिएको छ। विद्यालयमा विद्यार्थीको चाप बढ्दै जाँदा पर्याप्त कक्षाकोठा अभाव भएपछि स्थानीय सरकार र वडा कार्यालयको पहलमा भवन निर्माण प्रक्रिया अघि बढाइएको हो।

भवनको शिलान्यास इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, उपप्रमुख संगीता कुमारी चौधरी, वडा नं. ११ का अध्यक्ष केशब कोइराला तथा अन्य जनप्रतिनिधिहरूले संयुक्त रूपमा गरेका हुन्।
सीजीएस–जेबिएस, सूर्यविनायक, भक्तपुर निर्माण कम्पनीको ठेक्कामा निर्माण हुन लागेको दुईतले ८ कोठे भवनको लागत करिब १ करोड ९३ लाख रुपैयाँ रहेको छ। निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०८४ असार १५ गते तोकिएको छ।

कार्यक्रममा वडा अध्यक्ष केशब कोइरालाले नयाँ भवन निर्माणपछि विद्यार्थीहरूले सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्न पाउने तथा शिक्षण–सिकाइ प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

त्यस्तै, प्रमुख अतिथि तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय सरकारको साझा संकल्पअनुसार बजेट विनियोजन गरी भवन निर्माण कार्य अघि बढाइएको बताउनुभयो।

स्थानीयवासीहरूले पनि नयाँ भवन निर्माणसँगै विद्यालयको शैक्षिक वातावरण थप सुदृढ हुने, गुणस्तरीय शिक्षा प्राप्त गर्न टाढाका विद्यालय रोज्नुपर्ने बाध्यता कम हुने र स्थानीय बालबालिकालाई आफ्नै समुदायमा सहज रूपमा अध्ययन गर्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *