स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

आगजनीबाट ध्वस्त बनेको इटहरी प्रहरी भवन पुनर्निर्माण, वडा प्रहरी कार्यालयबाट सेवा सुरु

इटहरी । गत भदौमा जेनजी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त बनेको इटहरीस्थित प्रहरी भवन पुनर्निर्माण सम्पन्न भएपछि स्थानीय स्तरमा प्रहरी सेवा पुनः सञ्चालनमा आएको छ।

पुनर्निर्मित भवनबाट शुक्रबारदेखि वडा प्रहरी कार्यालय सञ्चालनमा आएसँगै आन्दोलनपछि प्रभावित बनेको स्थानीय सुरक्षा व्यवस्था पुनः सुदृढ हुने अपेक्षा गरिएको छ।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी हुँदा तत्कालीन इलाका प्रहरी कार्यालयको भवन पूर्ण रूपमा ध्वस्त भएको थियो। त्यसयता प्रहरी सेवा निरन्तरता दिन अस्थायी संरचनाबाट कार्यालय सञ्चालन हुँदै आएको थियो।

सुनसरीका प्रहरी प्रमुख एसपी केशव थेबेका अनुसार पुनर्निर्मित भवनमा प्रहरी सहायक निरीक्षक (सई) को नेतृत्वमा नौ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। स्थानीय स्तरमा प्रहरीको प्रत्यक्ष उपस्थिति बढेसँगै सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण तथा नागरिकलाई छिटो र प्रभावकारी सेवा प्रवाह गर्न सहज हुने उनले बताए।

यद्यपि, आन्दोलनअघि सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय भने अझै आफ्नै भवनमा फर्किएको छैन। हाल उक्त कार्यालय इटहरी रङ्गशाला परिसरमा विभिन्न दाताको सहयोगमा निर्माण गरिएको अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ।

पुनर्निर्मित भवनलाई वडा प्रहरी कार्यालयका रूपमा सञ्चालनमा ल्याइएपछि इटहरीको स्थानीय सुरक्षा संयन्त्र थप प्रभावकारी र सुदृढ हुने विश्वास प्रहरी प्रशासनले व्यक्त गरेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *