भोजपुर | जिल्ला प्रशासन कार्यालय भोजपुरले लगातारको भारी वर्षा र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्लाका विभिन्न सडकमा सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार साउन २ र ३ गते मनसुन सक्रिय भई कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। नदी तथा खोलामा पानीको बहाव बढ्ने, बाढी, कटान, डुबान तथा पहिरोको जोखिम बढ्न सक्ने भएकाले प्रशासनले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रशासनको निर्णय अनुसार आज (साउन २ गते) साँझ ६:०० बजेदेखि भोलि (साउन ३ गते) बिहान ४:०० बजेसम्म:
- लेगुवा–भोजपुर–चखेवा सडक खण्ड
- भोजपुर–दिङ्ला सडक
- भोजपुर सदरमुकामबाट दक्षिणतर्फ जोडिने सहायक मार्ग
- जिल्लाका अन्य सहायक सडकहरूमा आपत्कालीन बाहेक सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
प्रशासनले विशेषगरी अरुण नदी किनारमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न आग्रह गरेको छ।
आपत्कालीन अवस्थामा सवारी सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रहरी कार्यालय भोजपुरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।














