स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

फिल्मको पर्दाबाट पर्यटनको उडान : कोशी बन्यो आकर्षक छायांकन गन्तव्य

आरति थापा

विराटनगर । प्राकृतिक सौन्दर्य, जैविक विविधता, सांस्कृतिक सम्पदा तथा हिमालदेखि तराईसम्म फैलिएको अनुपम भूगोलका कारण कोशी प्रदेश पछिल्लो समय नेपाली चलचित्र तथा म्युजिक भिडियो छायांकनको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। प्रदेशका विभिन्न पर्यटकीय स्थलमा बढ्दो छायांकनले पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्न थालेको सरोकारवालाहरू बताउँछन्।

हालै प्रदर्शन भएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ यसका प्रमुख उदाहरणमध्ये एक हो। चलचित्रको मुख्य छायांकन ओखलढुङ्गाको रुम्जाटार क्षेत्र र काठमाडौंमा गरिएको थियो। प्रदर्शनपछि चलचित्रले व्यावसायिक सफलता हासिल गर्नुका साथै रुम्जाटारलाई देशव्यापी रूपमा चर्चामा ल्यायो। चलचित्र हेरेपछि धेरै दर्शक रुम्जाटार पुग्न थालेको निर्माता विनोद पौडेलको अनुभव छ।

मोरङको बेलबारी निवासी निर्माता पौडेलका अनुसार कोशी प्रदेश चलचित्र छायांकनका लागि अत्यन्तै सम्भावनायुक्त क्षेत्र हो। उनका अनुसार चलचित्रले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रदेशका पर्यटकीय गन्तव्यलाई चलचित्रमार्फत प्रभावकारी रूपमा प्रचार गर्न सकिए पर्यटनसँगै आर्थिक गतिविधिमा समेत उल्लेखनीय वृद्धि हुन सक्छ।

पछिल्ला वर्षहरूमा कोशी प्रदेशका विभिन्न जिल्लामा दर्जनौँ नेपाली चलचित्रको छायांकन भइसकेको छ। सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा, भोजपुर, पाँचथर, सङ्खुवासभा लगायत जिल्लामा ‘चण्डाल’, ‘क्याबिन गर्ल’, ‘वंश’, ‘मनै त हो’, ‘संगम’, ‘पार्सल’, ‘मिराज’, ‘पुरानो बुलेट’, ‘भुपु लाहुरे’, ‘बिहे पास’, ‘रातो टीका निधारमा’, ‘गाउँ आएको बाटो’, ‘उनको स्वीटर’, ‘परदेशी–२’, ‘रक्तबीज’, ‘अञ्जिला’, ‘परान’, ‘बलिदान’ लगायत चलचित्र छायांकन भएका छन्। हाल ‘चिरञ्जीवी भव’‘महाराजधिराज’ को छायांकन पनि प्रदेशका विभिन्न स्थानमा भइरहेको छ।

चलचित्रकर्मीका अनुसार एउटै प्रदेशभित्र हिमाल, पहाड, तराई, नदी, झरना, धार्मिक स्थल, सांस्कृतिक सम्पदा र ग्रामीण जीवनशैलीको विविधता उपलब्ध हुनु कोशी प्रदेशको सबैभन्दा ठूलो विशेषता हो। यही कारणले प्रदेश चलचित्र निर्माणका लागि आकर्षक गन्तव्य बन्दै गएको उनीहरूको भनाइ छ।

चलचित्र निर्माता संघका उपाध्यक्ष ज्योतिराज राईले चलचित्र पर्यटन प्रवर्द्धनको सबैभन्दा प्रभावकारी माध्यममध्ये एक भएको बताए। उनका अनुसार कुनै पनि पर्यटकीय गन्तव्यको दीर्घकालीन ब्रान्डिङ चलचित्रमार्फत सहज रूपमा गर्न सकिन्छ। उनले प्रचारको अभावमा ओझेलमा परेका कोशी प्रदेशका धेरै पर्यटकीय गन्तव्यलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताए।

प्रदेश सरकारले पनि पर्यटन र चलचित्र क्षेत्रलाई जोड्ने नीति अघि बढाएको छ। वर्ष २०८२ लाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गर्दै १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने ‘८२ का लागि ८२ गन्तव्य’ कार्यक्रममार्फत पर्यटकीय स्थलहरूको विकास प्रक्रिया अघि बढाइएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पनि पर्यटनलाई उच्च प्राथमिकतामा राख्दै प्रदेश सरकारले २०८३ साउनदेखि २०८५ असारसम्म ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरेको छ। पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ, जसबाट पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा भ्रमण वर्षका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

कोशी प्रदेशका सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, धनकुटा, भोजपुर, पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीका विभिन्न पर्यटकीय क्षेत्र चलचित्र तथा म्युजिक भिडियो छायांकनका लोकप्रिय गन्तव्य बन्दै गएका छन्। कञ्चनजङ्घा क्षेत्र, भेडेटार, नाम्जे, बराहक्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्ष लगायतका स्थानमा छायांकन गतिविधि बढ्दै गएको छ।

पर्यटन व्यवसायी भविष श्रेष्ठका अनुसार चलचित्र र म्युजिक भिडियोमा देखाइएका दृश्यहरूले दर्शकमा ती स्थान प्रत्यक्ष अवलोकन गर्ने इच्छा जगाउने भएकाले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्छ। टिकटक र चलचित्रमार्फत चर्चामा आएका बोराबाँध र बुढीखोलाको झर्नाजस्ता गन्तव्यमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेखनीय रूपमा बढेको उनले बताए।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले चलचित्र छायांकनले होटल, यातायात, खाद्यान्न तथा अन्य सेवा क्षेत्रमा प्रत्यक्ष आर्थिक गतिविधि बढाउने बताए। उनले स्थानीय तहले छायांकनका क्रममा आवश्यक समन्वय र सहजीकरणलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र पर्यटन विकासको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धनमा चलचित्रले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने बताए।

चलचित्र पत्रकार संघ कोशी प्रदेशका अध्यक्ष विरेन्द्रकुमार साहले प्रदेशको पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन चलचित्र क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार प्रदेश सरकार र स्थानीय तहबीच प्रभावकारी समन्वय हुन सके कोशी प्रदेश आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र छायांकनको प्रमुख गन्तव्य बन्न सक्छ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले चलचित्र उद्योग र पर्यटन क्षेत्रबीचको सहकार्यले प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान थप सुदृढ हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा चलचित्र छायांकनका लागि थप अनुकूल वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्।

प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटनका प्रचुर सम्भावना बोकेको कोशी प्रदेशमा चलचित्र छायांकन गतिविधि विस्तार हुँदै जाँदा पर्यटन, रोजगारी तथा स्थानीय अर्थतन्त्रले नयाँ गति लिने अपेक्षा गरिएको छ। सरोकारवालाहरूका अनुसार चलचित्र र पर्यटनबीचको सहकार्यलाई नीतिगत रूपमा थप सुदृढ बनाउन सके कोशी प्रदेश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र छायांकनको प्रमुख गन्तव्यका रूपमा स्थापित हुन सक्ने सम्भावना अझ बलियो बन्नेछ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *