स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको विशेष आस्था रहेको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिर सहित देशभरका शिवालयमा श्रद्धालु भक्तजनको उल्लेखनीय घुइँचो लागेको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारैवटा ढोका भक्तजनका लागि खोलिएको छ। मन्दिरका ढोका बेलुका आरती सम्पन्न भएपछि राति ८ बजेसम्म खुला रहने व्यवस्था गरिएको कोषले जनाएको छ।

विशेष पूजा बिहान ८ः३० बजेदेखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन हुनेछ। दर्शनका लागि आउने भक्तजनको सहज, सुरक्षित र व्यवस्थित व्यवस्थापन गर्न आवश्यक सुरक्षा, स्वयंसेवक तथा पूजाको विशेष प्रबन्ध मिलाइएको छ।

पशुपतिनाथ मन्दिरसँगै गोकर्णेश्वर मन्दिर, डोलेश्वर महादेव मन्दिर, नागेश्वर मन्दिर तथा वसन्तपुर दरबार क्षेत्रस्थित सानो पशुपतिनाथका रूपमा परिचित मक्खन महादेव मन्दिर लगायत काठमाडौं उपत्यकाका विभिन्न शिव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको छ।

साउन महिनाका सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा रहेकाले हरेक वर्ष यस दिन देशभरका शिवालयमा भक्तजनको उल्लेखनीय भीड लाग्ने गर्दछ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *