स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य जारी

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का १४ जना महिला च्याउ टिप्न जंगल गएको क्रममा सम्पर्कविहीन भएका छन्। उनीहरू आइतबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरेपछि परिवार र स्थानीयसँग सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतका अनुसार भीमदत्त नगरपालिका–१९ को दशरथ टोल तथा बागफाँटा क्षेत्रका महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न निकुञ्जतर्फ गएका थिए।

प्रहरीका अनुसार उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जभित्र प्रवेश गरेका थिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्।

डीएसपी रावतका अनुसार उनीहरू नौ जना र पाँच जनाको दुई समूह बनाएर च्याउ खोज्न जंगलतर्फ गएका थिए। साँझसम्म पनि घर नफर्किएपछि र उनीहरूसँग सम्पर्क हुन नसकेपछि घटनाबारे प्रहरीलाई जानकारी गराइएको थियो।

घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका कर्मचारी तथा स्थानीयको समन्वयमा खोजी अभियान सुरु गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरूको खोजी कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले जंगल क्षेत्रमा जाने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन, समूहबाट नछुट्टिन तथा सम्भव भएसम्म सम्बन्धित निकायलाई जानकारी गराएर मात्र प्रवेश गर्न आग्रह गरेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *