स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीमा ‘पापशाला’ को भव्य मञ्चन, तीन हजारभन्दा बढी दर्शकको उपस्थितिले रंगमञ्चप्रतिको आकर्षण बढ्यो

इटहरी | विश्व आदर्श एकेडेमीले आफ्नो वार्षिक नाट्य महोत्सवअन्तर्गत चर्चित नाटक ‘पापशाला’ को सफल मञ्चन गर्दै इटहरीको रंगमञ्चीय गतिविधिलाई थप जीवन्त बनाएको छ। इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा साउन ३ र ४ गते दुई चरणमा मञ्चन गरिएको नाटक हेर्न तीन हजारभन्दा बढी दर्शक उपस्थित भएका थिए।

विश्व आदर्श कलेजको आयोजना तथा साहित्यिक संस्था ‘लाभा’ को समन्वयमा सम्पन्न महोत्सवमा कलेजका पूर्वविद्यार्थी कलाकारहरूले प्रभावशाली अभिनय प्रस्तुत गरेका थिए। पहिलो चरण विद्यार्थी तथा शिक्षकका लागि केन्द्रित गरिएको थियो भने दोस्रो चरणमा इटहरीका विभिन्न विद्यालयका प्राचार्य, शिक्षक, साहित्यकार, नाट्यकर्मी, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

मानिसले जीवनभर गरेका कर्मको परिणामबाट मृत्युपछि पनि उम्किन नसक्ने र असल–खराब कर्मअनुसारको फल भोग्नैपर्ने विषयवस्तुमा आधारित नाटकले दर्शकलाई अन्तिम दृश्यसम्म बाँधेर राखेको थियो। नैतिकता, अपराधबोध, आत्मस्वीकार र मानवीय द्वन्द्वलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको नाटकले मनोरञ्जनसँगै जीवनप्रतिको गहिरो सन्देश दिएको भन्दै दर्शकहरूले खुलेर प्रशंसा गरेका थिए।

‘पापशाला’ फ्रान्सेली दार्शनिक तथा साहित्यकार जाँ–पल सात्र्रको चर्चित कृतिबाट प्रेरित भई नेपाली परिवेशअनुकूल रूपान्तरण गरिएको नाटक हो। यसको रूपान्तरण सुगम दुलालले गरेका हुन् भने निर्देशन प्रज्वल दुलालले गरेका छन्। कर्भिका पोखरेल क्रिएटिभ डाइरेक्टरका रूपमा रहेकी छन्।

नाटकमा सुगम दुलाल, प्रज्वल दुलाल, अविन ठटाल, लुमन्ती महर्जन र सुरभी प्याकुरेलले अभिनय गरेका छन् भने संगीत संयोजन संगीत विश्वकर्माले गरेका छन्।

एकेडेमीका प्राचार्य गणेश कुमार दुलालले इटहरीलाई साहित्य, कला र रंगमञ्चको उर्वर भूमि बनाउने उद्देश्यसहित वार्षिक नाट्य महोत्सवलाई निरन्तरता दिइने बताए। उनका अनुसार विद्यार्थीमा अभिनय कला, सिर्जनात्मक सोच, आत्मविश्वास तथा सामाजिक चेतनाको विकास गर्नुका साथै मौलिक नाट्य संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्यले प्रत्येक वर्ष यस्ता कार्यक्रम आयोजना गरिनेछ।

आयोजकका अनुसार विद्यार्थी, अभिभावक, शिक्षक तथा नाट्यप्रेमीहरूको उत्साहजनक सहभागिताले इटहरीमा गुणस्तरीय नाटकप्रतिको आकर्षण बढ्दै गएको पुष्टि गरेको छ। ‘पापशाला’ केवल मनोरञ्जनका लागि नभई समाजका विकृति, मानवीय द्वन्द्व र नैतिक प्रश्नमाथि गम्भीर बहस सिर्जना गर्ने सशक्त माध्यमका रूपमा स्थापित भएको आयोजकको भनाइ छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *