स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

दुहबीमा दन्त तथा मुख रोग उपचार सेवा शुभारम्भ, अत्याधुनिक प्रविधिबाट गुणस्तरीय उपचार हुने

दुहबी । दुहबी नगरपालिकाको नगर आधारभूत अस्पताल, तन्तमुनामा सोमबारदेखि दन्त (दाँत) तथा मुख रोग उपचार सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। नगर प्रमुख बेद गच्छादारले रिबन काटेर सेवाको उद्घाटन गरेका थिए। कार्यक्रममा उपप्रमुख मेनुका खतिवडा, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

दुहबी नगरपालिकाले नमुना आधारभूत अस्पतालका रूपमा परिचित अस्पतालमा थप विशेषज्ञ सेवा विस्तार गर्दै स्थानीय नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दन्त तथा मुख रोग उपचार सेवा सञ्चालनमा ल्याएको हो।

उद्घाटन कार्यक्रममा नगर प्रमुख बेद गच्छादारले दाँत तथा मुखसम्बन्धी रोगको उपचार निम्न आय भएका परिवारका लागि प्रायः खर्चिलो हुने भएकाले स्वास्थ्य बीमामार्फत सेवा उपलब्ध हुँदा स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए। उनले अस्पतालमा आधुनिक प्रविधियुक्त अत्याधुनिक उपकरण र दक्ष चिकित्सकमार्फत भरपर्दो उपचार सेवा प्रदान गरिने उल्लेख गर्दै सबै नागरिकलाई सरकारी स्वास्थ्य बीमाको उपयोग गरी अस्पतालबाट सेवा लिन आग्रह गरे।

मेयर गच्छादारले अस्पतालमा हाल नाक, कान, आँखा, स्त्रीरोग तथा प्रसूति सेवा, आकस्मिक (इमर्जेन्सी) सेवा सहित दर्जनौँ स्वास्थ्य सेवाहरू नियमित रूपमा सञ्चालन भइरहेको जानकारी दिँदै आगामी दिनमा अझ विशेषज्ञ सेवा विस्तार गरिने प्रतिबद्धता व्यक्त गरे।

उपप्रमुख मेनुका खतिवडाले दन्त सेवा सञ्चालनसँगै दुहबीका नागरिकले सामान्य दाँतसम्बन्धी उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता घट्ने बताइन्। उनले स्वास्थ्य सेवाको पहुँच बढाउनु नै नगरपालिकाको प्राथमिकता रहेको उल्लेख गर्दै स्थानीयलाई समयमै स्वास्थ्य परीक्षण र उपचार गराउन आग्रह गरिन्।

दन्त तथा मुख रोग उपचार सेवा सञ्चालनसँगै दुहबी नगर आधारभूत अस्पतालले स्वास्थ्य सेवाको दायरा अझ फराकिलो बनाएको छ। यसबाट विशेषगरी विपन्न, ज्येष्ठ नागरिक तथा स्वास्थ्य बीमामा आबद्ध परिवारले सहज, सुलभ र गुणस्तरीय उपचार सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *