इटहरी । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग संकलन गरी संस्थालाई बुझाउन बाँकी रहेको रकम भए तत्काल बुझाउन सम्बन्धित पक्षलाई आग्रह गरेकी छन्।
सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा मायाघरकी संस्थापकमध्येकी एक तथा पुराणवाचिका राधिका दासीले मायाघरको नाममा सहयोग संकलन गरे पनि संस्थालाई नबुझाएको भन्ने विषय सार्वजनिक भएपछि अध्यक्ष प्याकुरेलले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
उनका अनुसार मायाघर स्थापना भएपछि राधिका दासीले आफू संरक्षकको भूमिकामा मात्र रहने भन्दै २०८० सालदेखि संस्थाको दैनिक गतिविधिबाट अलगिएको र त्यसयता संस्थासँग कुनै सम्पर्कमा नरहेको बताएकी छन्।
प्याकुरेलले मायाघरको नाममा संकलन गरिएको कुनै सहयोग संस्थालाई बुझाउन बाँकी रहेको भए तत्काल बुझाउन आग्रह गर्दै आवश्यक परे राधिका फाउण्डेशनलाई औपचारिक पत्राचार गर्ने जानकारी दिइन्।
साथै, मायाघरलाई सहयोग गर्न चाहने सबै दाताहरूलाई अनिवार्य रूपमा आधिकारिक रसिद लिएर मात्र सहयोग गर्न आग्रह गर्दै संस्थाको आर्थिक पारदर्शितामा सबैले सचेत रहनुपर्ने बताइन्।














