स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

भानु मार्ग कालोपत्रेको माग गर्दै स्थानीय नगरपालिका पुगे, मेयर–उपमेयर अनुपस्थित भएको भन्दै विरोध

उर्लाबारी । उर्लाबारी नगरपालिका–४, ६ र ८ का स्थानीयवासीले भानु मार्गको दयनीय अवस्थाको दीर्घकालीन समाधानको माग गर्दै मंगलबार नगरपालिकामा धर्नासहित ध्यानाकर्षण गराएका छन्। उनीहरूले भानु चोकदेखि बहादुर बाबा स्कूलसम्मको सडक तत्काल कालोपत्रे गर्न माग गरेका हुन्।

स्थानीय मुद्दामा सक्रिय युवा अभियन्ता धनुष महतोसहित स्थानीय युवाहरूको उल्लेख्य सहभागिता रहेको भेलामा केही दिनअघि सोही सडकमा केरा, उखु र धान रोपेर गरिएको सांकेतिक विरोधको पनि स्मरण गरिएको थियो।

स्थानीयका अनुसार वर्षायाममा सडकभरि पानी जम्ने, ठूला खाल्डाखुल्डी बन्ने र सडक पोखरीजस्तै हुने अवस्थाका कारण दैनिक आवतजावत निकै कष्टकर बनेको छ। मोटरसाइकल, साना सवारीसाधन तथा पैदलयात्री सबैले सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ।

भेलाका क्रममा नगर प्रमुख, उपप्रमुख तथा सम्बन्धित जनप्रतिनिधि उपस्थित नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका थिए। स्थानीय सुनिता खरेल ढकालले सामाजिक सञ्जालमार्फत नगरपालिकाले बिहान १०:३० बजे छलफलका लागि बोलाए पनि मेयर, उपमेयर र सम्बन्धित वडाध्यक्ष उपस्थित नभएको भन्दै आपत्ति जनाएकी छन्।

उनले कर्मचारीहरूले सडकको निरीक्षण गरेर तत्काल गिट्टी हालेर खाल्डाखुल्डी पुर्ने जानकारी दिए पनि अब अस्थायी मर्मत नभई भानु स्कूलदेखि बहादुर बाबा स्कूलसम्मको सडक कालोपत्रे हुनुपर्ने माग दोहोर्याएकी छन्।

युवा अभियन्ता धनुष महतोले पनि छलफलका लागि समय दिएर जनप्रतिनिधि स्वयं उपस्थित नहुनु दुःखद भएको बताए। उनले अस्थायी रूपमा गिट्टी हालेर समस्या टार्नेभन्दा सडकको स्थायी समाधानका लागि तत्काल कालोपत्रे निर्माण सुरु गर्नुपर्नेमा जोड दिए।

भेलामा सहभागी अन्य स्थानीयले समेत जनप्रतिनिधिहरू बैठकमा अनुपस्थित हुनु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका थिए। यद्यपि समाचार तयार पार्दासम्म नगर प्रमुख र उपप्रमुखले यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।

यसअघि नगरपालिकाका प्राविधिक तथा कर्मचारीले सडकको स्थलगत निरीक्षण गरी तत्कालका लागि गिट्टी हालेर आवतजावत सहज बनाउने तयारी रहेको जानकारी दिएका थिए। तर स्थानीयले त्यसलाई दीर्घकालीन समाधान नभएको भन्दै कालोपत्रे निर्माणको काम तत्काल अघि बढाउन माग गरेका छन्।

भेलामा उर्लाबारी–५ का वडाध्यक्ष रविन लामाले सहजीकरण गरेका थिए। त्यसपछि वडाध्यक्ष लामा, नगर प्रमुखका स्वकीय सचिव हरी खतिवडा र योजना शाखा प्रमुख विकास दाहाल स्थानीयसँगै वडा नम्बर ४ र ८ का विभिन्न सडकको स्थलगत अवलोकनमा पुगेका थिए। उनीहरूले सडक सुधारका लागि आवश्यक अनुमानित लागत संकलन गरेका छन्।

वडाध्यक्ष लामाका अनुसार बिहीबारदेखि भानु मार्गका खाल्डाखुल्डी पुर्ने काम सुरु गरिनेछ, भने दीर्घकालीन रूपमा सडक कालोपत्रे गर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाइने जानकारी स्थानीयलाई दिइएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *