मोरङ । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तापछि दुई दलबीच राजनीतिक सहकार्य गर्ने सहमति भएको छ।
भेटपछि एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत दुवै दलबीच प्रदेश सरकार निर्माणदेखि राष्ट्रिय राजनीतिक सहकार्यसम्मका विषयमा सकारात्मक समझदारी बनेको जानकारी दिएका छन्। उनका अनुसार सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढाउने सहमति भएको हो।
बस्नेतले प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व तथा कम्युनिस्ट शक्तिहरूबीच सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यका साथ संवाद अगाडि बढेको बताएका छन्।
उनले वाम शक्तिहरूबीचको सहकार्यले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास पनि व्यक्त गरेका छन्।
ओली र प्रचण्डबीचको पछिल्लो भेटलाई आगामी राजनीतिक समीकरण र सरकार सञ्चालनका विषयमा अर्थपूर्ण रूपमा हेरिएको छ।














