सुनसरी। नेपाली कांग्रेस केन्द्रीय समितिको ‘ग्रीन रन’ अभियान अन्तर्गत ‘ग्रीन दुहबी’ अभियानलाई सफल बनाउने उद्देश्यले नेपाली कांग्रेस दुहबी नगर समितिले वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली कांग्रेसका महासमिति सदस्य तथा दुहबी नगर सभापति बेदनारायण गच्छादारले बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा दुहबीको ढकाल चोकदेखि पशुपति बिस्कुट फ्याक्ट्री अगाडिसम्म करिब ५०० मिटर सडक डिभाइडरमा करिब १,००० वटा विभिन्न प्रजातिका फूल तथा बिरुवा रोपिएको छ। रोपिएका बिरुवाको दीर्घकालीन संरक्षणका लागि हेभी नेट जालीद्वारा घेराबेरा समेत गरिएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेदनारायण गच्छादारले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण र स्वच्छ दुहबी निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिइने बताए। उनले नेपाली कांग्रेस केन्द्रीय समितिले अघि सारेको ‘ग्रीन रन’ अभियानलाई स्थानीय स्तरमा प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ‘ग्रीन दुहबी’ अभियानलाई सफल बनाउने उद्देश्यले सडकका डिभाइडरमा वृक्षारोपण गरिएको उल्लेख गरे। उनले रोपिएका बिरुवाको संरक्षणमा सबै नगरवासीको समान जिम्मेवारी रहने भन्दै संरक्षणमा सक्रिय सहभागिता जनाउन आग्रह गरे।
नेपाली कांग्रेसका संस्थापक तथा महामानव बीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले वातावरण संरक्षण, हरियाली विस्तार तथा स्वच्छ र सुन्दर दुहबी निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेको छ।














