काठमाडौं । नेपाली विवाहित महिलाका लागि आयोजना हुँदै आएको मिसेस नेपाल वल्र्ड–२०२६ को आवेदन खुला गरिएको छ।
आयोजक रिबन इन्टरटेन्मेन्ट प्रालिले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो। पहिलो चरणको अडिसनअघि खल्ती एप वा रिबन इन्टरटेन्मेन्टको वेबसाइटमार्फत आवेदन दिन सकिने आयोजकले जनाएको छ।
आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले पहिलो चरणको अडिसन साउन २३ गते काठमाडौंमा आयोजना हुने जानकारी दिए।
उनका अनुसार अडिसनबाट छनोट भएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार कला, सार्वजनिक प्रस्तुति, र्याम्प वाक, फिटनेस तथा सामाजिक उत्तरदायित्वलगायत विषयमा ४५ दिनसम्म प्रशिक्षण दिइनेछ।
प्रतियोगिताको विजेताले आगामी वर्ष अमेरिकामा आयोजना हुने मिसेस वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछ। यसबाहेक मिसेस नेपाल इन्टरनेसनल–२०२६, एमएस इन्टरनेसनल–२०२६ र मिसेस नेपाल कोस्मो–२०२६ का लागि पनि प्रतियोगीमध्येबाटै प्रतिनिधि छनोट गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन कुनै निश्चित उचाइ वा तौलको मापदण्ड तोकिएको छैन। प्रतियोगिताको फाइनल कार्तिक १४ गते आयोजना हुनेछ।














