स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

साउन ९ गते तरहरामा ‘तरहरा कोरा २०२६’ हुँदै, कोशी प्रदेशका ६ सय साइकलप्रेमी सहभागी हुने

इटहरी । स्वास्थ्य, वातावरण र पर्यटन प्रवद्र्धनका लागि आयोजना हुँदै आएको ‘तरहरा कोरा २०२६’ च्यारिटी साइकल यात्रा यही साउन ९ गते शनिबार हुने भएको छ।

तरहरा साइकलिङ क्लबको आयोजनामा ‘स्वास्थ्य, वातावरण, पर्यटनका लागि च्यारिटी साइकल यात्रा’ भन्ने नारासहित आयोजना हुने कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट करिब ४५० जना साइकलप्रेमी सहभागी हुने आयोजकले जनाएको छ। वर्षेनी सहभागीको संख्या बढ्दै गएको यस कार्यक्रमको यस वर्षको अनुमानित बजेट करिब ६ लाख ५० हजार रुपैयाँ रहेको छ।

साइकल यात्रा बिहान ६ बजे तरहरा चोकबाट सुरु भई तरहरा बजार, जनसहयोग–वीरेन्द्र चोक, शान्ति टोल, चौतारी चोक, जब्दी चोक, नयाँ टोल, बरमपुर सामुदायिक वन, बुद्ध चोक, बहुभाषी स्कुल, हिमशिखर स्कुल, प्रहरी स्टेशन, पानीपिया, शान्तिनगर सामुदायिक वन, देवीथान चोक, गुरुङ टोल लाइन, त्रिभुवन चोक, तामाङ टोल, पुराण चोक, भेटघाट चोक, प्रणामी मन्दिर, मिलन चोक, जुट विकास लाइन, विराटनगर लाइन, गोल्डेन चोक, दिपेन्द्र चोक, बीपी चोक, कलंकी चोक–बसपार्क, ट्राफिक कार्यालय, पिपल चोक–रकटोल, रामजानकी चोक, धरहरा चोक, कञ्चन चोक, माझी टोल, गाविस वडा नम्बर १ र मिलघर हुँदै इटहरी–२० स्थित जनसहयोग माध्यमिक विद्यालय, तरहराको जनसहयोग गेटमा पुगेर समापन हुनेछ। साइकल यात्राको कुल दूरी २६.१ किलोमिटर रहेको छ।

कार्यक्रममा सहभागीहरूका लागि बिहान ५ः३० बजे उपस्थिती तथा तयारी, ६ः३० बजे उद्घाटन तथा साइकल यात्रा प्रारम्भ र बिहान १० बजेसम्म समापन कार्यक्रम तथा फिनिसर मेडल वितरण गरिनेछ।

कार्यक्रमको मुख्य उद्देश्य साइकलमार्फत स्वस्थ जीवनशैली प्रवद्र्धन गर्ने, वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाउने, स्वास्थ्य तथा पर्यटनको प्रवद्र्धन गर्ने र सामाजिक सेवामार्फत सकारात्मक सन्देश प्रवाह गर्नु रहेको आयोजकले जनाएको छ। स्थानीय धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रवद्र्धनमा समेत कार्यक्रमले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमअन्तर्गत निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकका लागि निःशुल्क शल्यक्रियाको पहिचान तथा सहजीकरण गरिनेछ भने सरकारी तथा सामुदायिक विद्यालयमा सेनेटरी प्याड भेन्डिङ मेसिन उपलब्ध गराउने कार्यक्रमसमेत रहेको छ।

त्यस्तै, विपन्न परिवारका बालबालिकालाई आवश्यक सामग्री वितरण तथा Autism Screening Camp सञ्चालन गरिनेछ। सहभागीहरूको स्वास्थ्य सुरक्षाका लागि आधिकारिक मेडिकल सपोर्ट पार्टनरका रूपमा विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, करिब ३ वटा एम्बुलेन्स, नेपाल रेडक्रस, स्थानीय स्वास्थ्य संस्था, मेडिकल टोली र स्वयंसेवक टोली परिचालन गरिने आयोजकले जनाएको छ।

कार्यक्रमलाई सुरक्षित र व्यवस्थित बनाउन प्रदेश ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, नगर प्रहरी कार्यालय इटहरी, इलाका प्रहरी कार्यालय तरहरा र ट्राफिक प्रहरी चौकी तरहरासँग समन्वय गरिएको छ। कार्यक्रम सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय, सुनसरीबाट आवश्यक अनुमति प्राप्त भइसकेको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी सबैलाई आधिकारिक तरहरा कोरा टी–सर्ट, फिनिसर मेडल तथा अनलाइन ई–सर्टिफिकेट प्रदान गरिनेछ। संकलित च्यारिटी फण्ड स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने आयोजकले जनाएको छ।

तरहरा साइकलिङ क्लबले सन् २०२१ देखि साइकलिङ संस्कृतिको विकास, स्वस्थ जीवनशैली प्रवद्र्धन, वातावरण संरक्षण, पर्यटन प्रवद्र्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

कार्यक्रमका संयोजक मदन बस्नेतअध्यक्ष सुरज क्षेत्री रहेका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *