स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सुनसरीमा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा बढी

सुनसरी । सुनसरी जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/०८३ मा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दा सबैभन्दा बढी दर्ता भएको पाइएको छ।

अदालतले आर्थिक वर्ष २०८२ साउनदेखि २०८३ असार मसान्तसम्मको मुद्दा व्यवस्थापनसम्बन्धी विवरण सार्वजनिक गर्दै एक वर्षको अवधिमा दर्ता भएका कुल मुद्दामध्ये ६० दशमलव ६९ प्रतिशत फछ्र्योट गरेको जनाएको छ।

अदालतको वार्षिक मुद्दा विवरणअनुसार आर्थिक वर्षभरि विभिन्न प्रकृतिका कुल ९ हजार ५ सय ५२ मुद्दा दर्ता भएका थिए। तीमध्ये सम्बन्ध विच्छेदका १ हजार २ सय ४१ मुद्दा दर्ता भएकोमा ९ सय ३६ मुद्दा फछ्र्योट भएका छन् भने ३ सय ५ मुद्दा चालु अवस्थामा छन्। यो संख्या अन्य सबै प्रकृतिका मुद्दाभन्दा बढी हो।

सम्बन्ध विच्छेदपछि अंशसम्बन्धी मुद्दा पनि उच्च संख्यामा दर्ता भएका छन्। अंशसम्बन्धी ९ सय ४२ मुद्दामध्ये ४ सय ७ मुद्दा फछ्र्योट भएका छन् भने ५ सय ३५ मुद्दा चालु रहेका छन्।

यस्तै, लागुऔषधसम्बन्धी ७ सय ८५ मुद्दा दर्ता भएकोमा ३ सय ७९ मुद्दा फछ्र्योट भएका छन् भने ४ सय ६ मुद्दा विचाराधीन छन्। जग्गा खिचोलासम्बन्धी ३ सय ५४ मुद्दामध्ये ६९ मुद्दा फछ्र्योट हुँदा २ सय ८५ मुद्दा चालु रहेका छन्।

कर्तव्य ज्यानसम्बन्धी ८५ मुद्दामध्ये ३२ मुद्दा फछ्र्योट भएका छन् भने ५३ मुद्दा बाँकी छन्। बालबालिकासँग सम्बन्धित ३ सय २ मुद्दामध्ये १ सय ९६ मुद्दा फछ्र्योट हुँदा १ सय ६ मुद्दा चालु अवस्थामा छन्।

मानाचामलसम्बन्धी ८४ मुद्दामध्ये ३१ मुद्दा फछ्र्योट भएका छन् भने ५३ मुद्दा विचाराधीन छन्।

बाइट : मुख्य न्यायाधीश प्रकाश राउत

अदालतको तथ्यांकअनुसार अन्य विभिन्न प्रकृतिका ५ हजार ६ सय ३८ मुद्दामध्ये ३ हजार ७ सय मुद्दा फछ्र्योट भएका छन् भने बाँकी मुद्दा चालु अवस्थामा छन्।

समग्रमा आर्थिक वर्ष २०८२/०८३ मा दर्ता भएका ९ हजार ५ सय ५२ मुद्दामध्ये ५ हजार ७ सय ९८ मुद्दा फछ्र्योट गरिएको छ भने ३ हजार ७ सय ५४ मुद्दा अझै विचाराधीन रहेका छन्।

सुनसरी जिल्ला अदालतमा सम्बन्ध विच्छेद, अंश, लागुऔषध तथा जग्गा विवादसम्बन्धी मुद्दाको संख्या उल्लेख्य देखिएको छ। यसले सामाजिक, पारिवारिक तथा कानुनी चुनौती अझै कायम रहेको देखाएको छ। नयाँ मुद्दाको चाप निरन्तर बढिरहेकाले न्याय सम्पादनका लागि थप स्रोतसाधन र प्रभावकारी मुद्दा व्यवस्थापन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *