स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

धर्मसँगै विकास : दुर्घटनाको त्रासबाट सुरक्षित बस्तीको नमुना बन्दै तरहरा होम्स

इटहरी । कुनै समय लगातार हुने सवारी दुर्घटनाका कारण त्रासको पर्याय बनेको धरान–इटहरी सडकखण्डअन्तर्गत इटहरी–२० को तरहरा होम्स अहिले भने सुरक्षा, सौन्दर्य र सामुदायिक एकताको नमुना बस्तीका रूपमा विकास हुँदै गएको छ।

सडक दुर्घटनामा आफ्ना आफन्त गुमाएको पीडालाई स्थानीयवासीले विकास अभियानमा रूपान्तरण गरेका छन्। धार्मिक कार्यक्रमबाट सङ्कलित रकमलाई सडक सुरक्षा, जनचेतना र बस्ती विकासमा खर्च गर्दै स्थानीयले ‘धर्मसँगै विकास’ अभियान अघि बढाएका हुन्।

गत वैशाख १५ गते राजमार्गमै आयोजना गरिएको एकाहा पुराणबाट ६ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन भएपछि अभियानले गति लिएको हो। वडा कार्यालय, इटहरी उपमहानगरपालिका र स्थानीयवासीको सहकार्यमा केही महिनामै होम्स क्षेत्रको स्वरूपमा उल्लेख्य परिवर्तन आएको छ।

पुराण आयोजक समिति तथा धनपुरी एकता समाजका अध्यक्ष राजन कटवालका अनुसार पुराण आयोजना गर्नुको उद्देश्य धार्मिक अनुष्ठानमा मात्र सीमित थिएन। बढ्दो सडक दुर्घटना न्यूनीकरण गर्न जनचेतना फैलाउने र सुरक्षित बस्ती निर्माण गर्ने उद्देश्यले धार्मिक कार्यक्रमलाई विकाससँग जोडिएको उहाँको भनाइ छ।

धार्मिक कार्यक्रमबाट सङ्कलित रकमलाई सडक सुरक्षाका लागि प्रयोग गर्दै स्थानीयले दुर्घटना न्यूनीकरणतर्फ महत्वपूर्ण कदम चालेका छन्। सडक किनारमा सुरक्षा संरचना निर्माण, सौन्दर्यीकरण तथा बस्तीको वातावरण सुधारका काम अघि बढाइएको छ।

विगतमा दुर्घटनाको त्रासले चिनिएको यही क्षेत्र अहिले स्थानीयको सामूहिक प्रयास र सहकार्यका कारण परिवर्तनको उदाहरण बन्दै गएको छ।

दुर्घटनामा आफन्त गुमाएको पीडालाई निराशामा सीमित नराखी स्थानीयले त्यसलाई सुरक्षित र व्यवस्थित बस्ती निर्माणको अभियानमा रूपान्तरण गरेका छन्।

धर्मबाट सङ्कलित रकम विकासमा लगानी गर्ने यो अभियानले समुदाय एकजुट भए परिवर्तन सम्भव छ भन्ने सन्देशसमेत दिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *