तिलक। स्थानीय युवाहरूको सक्रिय पहलमा मोरङ जिल्लाको केराबारी गाउँपालिका–२ स्थित पर्यटकीय क्षेत्र ३२ जुरे भिरमा ‘आई लभ यू सिंहदेवी’ संरचना, फोटो खिच्ने स्थान तथा फलामका बेन्चहरू निर्माण गरिएको छ।
केराबारी–सिंहदेवी हुँदै सम्मेवा जोड्ने सडकखण्डमा पर्ने प्राकृतिक रूपमा अत्यन्तै सुन्दर तथा भिरालो ३२ जुरे भिरको आकर्षण बढाउने उद्देश्यले उक्त संरचनाहरू निर्माण तथा व्यवस्थापन गरिएको हो। नयाँ संरचनाले आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको छ।
योजनाका संयोजक विक्रम शाही ठकुरीका अनुसार उक्त निर्माण कार्य कुनै सरकारी वा राज्यको लगानीबाट नभई स्थानीय युवाहरूको पहल तथा विभिन्न विकासप्रेमी व्यक्तिहरू र चिरपरिचित साथीहरूको आर्थिक तथा नैतिक सहयोगबाट सम्पन्न भएको हो।
“यस क्षेत्रको पर्यटन विकास, सौन्दर्य अभिवृद्धि र दीगो विकासको अवधारणालाई आत्मसात गर्दै यो कार्य गरिएको हो,” ठकुरीले भने, “आगामी दिनमा पनि यस्ता विकासमूलक तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरूलाई निरन्तरता दिने उद्देश्यका साथ स्थानीय युवाहरू सक्रिय रूपमा जुटिरहेका छन्।”
उनले छिमेकी गाउँपालिका तथा नगरपालिकाका युवाहरू र सरोकारवालासँग समेत सहकार्य भइरहेको जानकारी दिँदै आगामी योजनाहरूका लागि आर्थिक तथा भौतिक सहयोगको अपेक्षा रहेको बताए।
निर्माण कार्यमा बुद्धिजीवी, समाजसेवी, विकासप्रेमी व्यक्तित्व तथा स्थानीय युवा–युवतीहरूको उल्लेखनीय सहभागिता रहेको बताइएको छ। स्थानीयवासीका अनुसार यस किसिमका पूर्वाधारले क्षेत्रको पहिचान स्थापित गर्नका साथै पर्यटन प्रवर्द्धनमार्फत स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
स्थानीय युवाहरूको अग्रसरतामा निर्माण गरिएको ‘आई लभ यू सिंहदेवी’ संरचनाले अब ३२ जुरे भिरलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।














