स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

कोशीमा हिक्मत कार्कीको विकल्प खोज्दै एमाले, तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्री बनाउने तयारी

विराटनगर । नेकपा (एमाले) ले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि वर्तमान संसदीय दलका नेता हिक्मतकुमार कार्कीको विकल्प खोज्दै छलफल तीव्र पारेको छ। केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार कोशी प्रदेशको नेतृत्व एमालेले पाउने निश्चित भएपछि पार्टीले संसदीय दलका उपनेता तिलकुमार मेन्याङबोलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने तयारी गरेको हो।

अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने हिक्मत कार्कीको साटो ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने मेन्याङबोलाई मुख्यमन्त्री बनाउने विषयमा एमालेको शीर्ष नेतृत्वसमेत सकारात्मक रहेको स्रोतले जनाएको छ।

मेन्याङबोले आफू मुख्यमन्त्री बन्ने विषयमा लगभग सहमति जुटिसकेको दाबी गरेका छन्। उनले छलफल जारी रहेको र छिट्टै निर्णय हुने बताउँदै आफूलाई ‘तयारीमा रहन’ भनिएको बताएका छन्।

यद्यपि, एमाले कोशी प्रदेशका सचेतक रमेश बस्नेतले भने मुख्यमन्त्री परिवर्तनबारे अहिलेसम्म कुनै अन्तिम निर्णय भइनसकेको बताएका छन्। केन्द्रमा नयाँ सत्ता समीकरणको टुङ्गो लागिसकेकाले कोशी प्रदेशको नेतृत्वबारे पनि चाँडै औपचारिक निर्णय हुने अपेक्षा गरिएको छ।

यसैबीच, नेकपा (एकीकृत समाजवादी) का कोशी प्रदेश इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले एमालेसँगको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले एमालेसँगको गठबन्धन न्यायोचित नभएको र यो केवल बाध्यताको उपज भएको टिप्पणी गरेका छन्।

राईले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्नुभन्दा वर्तमान अवस्थामै रहेका मुख्यमन्त्रीलाई विश्वासको मत दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *