मोरङ । कानको जालि फुट्नेगरी विद्यार्थी पिटेको आरोपमा मोरङको पथरीशनिश्चरे ५ स्थित अमरसिंह माध्यामिक विद्यालयका शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अमरसिंह माविका शिक्षक प्रकाश अधिकारी रहेका छन् । अधिकारीलाई आज (शनिबार) इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको बुझिएको छ ।
बुधबार कक्षा ८ मा अध्ययनरत १४ वार्षिय छात्र सानु चौधरीलाई कुटपिट गरेका थिए । कान दुख्न नछाडेपछि विराटनगर नोवेल अस्पतालमा परीक्षण गर्दा कानको जालि फुटेको स्वास्थ्य कर्मीले पुष्टि गरेको विद्यालयका प्रधानाध्यापक डोमी साहाले बताउनुभयो ।
विद्यार्थी चौधरीको कान दुख्न नछाडेपछि शिक्षक प्रकाश अधिकारीले नै उपचारको लागि विराटनगर नोवेल अस्पताल लगेका थिए । उपचारमा लागेको सम्पूर्ण खर्च शिक्षकले बेहोर्ने छलफलहुँदै आएको थियो ।
आज (शनिबार) मेलमिलाप गर्न तयारी भएको थियो । मेलमिलापको लागि इलाका प्रहरी कार्यालय पथरीमा आउँदा वालबालिकाको विषय अदालति प्रकृयामा जानै पर्ने भएपछि बालहिंसामा मुद्धा चलेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । छलफलको लागि ५ नं. वडा अध्यक्ष चेतन खड्का, कांग्रेस नेता बद्री निरौला विद्यालयका प्रधानाध्यापक डोमी साहा लगायत आउनु भएको थियो ।














