इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडपमा एक युवकको मृत्यु भएपछि स्थिति तनावपूर्ण बनेको छ। घटनापछि सरकारले प्रशासनिक तथा सुरक्षा नेतृत्वमा व्यापक फेरबदल गर्नुका साथै छानबिन समिति गठन गरेको छ।
प्रारम्भिक जानकारीअनुसार श्रावण महिनाको बोलबम यात्राको तयारीका क्रममा मन्दिर क्षेत्रमा राति डिजे बजाइएको विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय क्षेत्रमा राखिएको धार्मिक झण्डा हटाउने र अर्को झण्डा राख्ने विषयले तनाव थप चर्किँदा दुई समुदायबीच झडप भएको बताइएको छ।
थिति नियन्त्रणबाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले हस्तक्षेप गरेका थिए। प्रहरीले सुरुमा अश्रुग्यास र हवाई फायर गरेको तथा त्यसपछि गोली चलाउँदा देवानगञ्ज–३ कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको हो। घटनामा सर्वसाधारण, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।
घटनापछि स्थानीय प्रशासनले देवानगञ्ज र हरिनगर गाउँपालिकाका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ। आन्दोलनकारीले केही स्थानमा टायर बालेर प्रदर्शन गर्नुका साथै पसल, सवारीसाधन र अन्य भौतिक संरचनामा तोडफोड तथा आगजनी गरेका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ।
घटनाको गम्भीरता बढेसँगै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी, कोशी प्रदेश प्रहरी प्रमुख (डीआईजी), जिल्ला प्रहरी प्रमुख (एसपी) लगायत सुरक्षा निकायका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको छ। साथै, सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी एक साताभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्न अफवाहमा विश्वास नगर्न, कानुनको पालना गर्न तथा शान्ति कायम गर्न सबै पक्षसँग अपिल गरेको छ।













