दमक । बिटुमिनको अभाव हटेसँगै काँकरभिट्टा–लौकही सडक स्तरोन्नति आयोजनाको पूर्वी खण्डमा कालोपत्रे कार्यले तीव्रता पाएको छ। आयोजनाअन्तर्गत हालसम्म १६.५ किलोमिटर सडकमा पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको छ।
आयोजनाका अनुसार मौसम अनुकूल रहेमा आगामी एक साताभित्र थप ७ किलोमिटर सडकमा कालोपत्रे गर्ने तयारी गरिएको छ। हाल दैनिक ४ सयदेखि ८ सय मिटरसम्म सडक कालोपत्रे भइरहेको जनाइएको छ।
दसैँअघि थप १५ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्र बनाइएको आयोजनाले जनाएको छ।
कुल ९५.७६ किलोमिटर लम्बाइ रहेको काँकरभिट्टा–लौकही सडक स्तरोन्नति आयोजना एसियाली विकास बैंक (ADB) को ऋण सहयोग तथा नेपाल सरकारको लगानीमा निर्माण भइरहेको हो। आयोजना सम्पन्न भएपछि पूर्व–पश्चिम यातायात सहज बन्नुका साथै व्यापार, पर्यटन र स्थानीय जनजीवनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।














