स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

विवाहको नौ महिनामै झापाकी रितु ढकालको शंकास्पद मृत्यु


झापा १२ साउन । झापाको भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित पोख्रेल टोलमा विवाह भएको करिब नौ महिनामै एक युवती मृत अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको छ। मृतकका माइती पक्षले घटनालाई शंकास्पद भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाका अनुसार चन्द्रगढी निवासी प्रसिल कोइरालासँग करिब नौ महिनाअघि विवाह गरेकी रितु ढकाल सोमबार राति करिब ११ः४५ बजे घरभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। रितु बिर्तामोड–८ निवासी पुष्पराज ढकालकी कान्छी छोरी हुन्।
घटनापछि बुधबार बिहान ठूलो संख्यामा माइती पक्षका आफन्त तथा स्थानीयवासी जिल्ला प्रहरी कार्यालय झापा पुगेका थिए। उनीहरूले रितुको मृत्यु सामान्य आत्महत्या नभई शंकास्पद रहेको दाबी गर्दै घटनाको सूक्ष्म र निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन्।
हाल रितुको शव ओम साई अस्पतालमा राखिएको छ। माइती पक्षले प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टम गराउन अस्वीकार गरेपछि शव पोस्टमार्टमका लागि धरान पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको प्रकृति, मृत्युको कारण र त्यसअघि भएका गतिविधिबारे अनुसन्धान सुरु गरेको जनाएको छ। पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा घटनाको वास्तविकता खुल्ने प्रहरीको भनाइ छ।यता माइती पक्षले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। प्रहरीले भने अनुसन्धान जारी रहेकाले पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणका आधारमा थप तथ्य सार्वजनिक गरिने जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *