स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन………

झापा | झापाको मेचीनगर नगरपालिका–६, काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ। मृतक सर्लाहीको लालबन्दी–२ निवासी २९ वर्षीया कविताकुमारी ढुङ्गाना रहेको प्रहरीले जनाएको छ।

उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन्। गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी हुन्। दुवै जना गत वैशाखदेखि सोही विद्यालयमा अध्यापन गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवालका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेलका अनुसार साउन ५ गतेदेखि विद्यालय बिदामा रहेको थियो। सोमबार विद्यालय सञ्चालन भएपछि दुवै शिक्षक सम्पर्कविहीन रहेको पाइयो। उनीहरू बस्ने कोठामा बाहिरबाट ताला लागेको थियो भने फोन सम्पर्कसमेत हुन सकेको थिएन।

प्रधानाध्यापक लुइँटेलका अनुसार सोमबार साँझ करिब ४:३० बजे रतन गुप्ताले ह्वाट्सएपमार्फत सन्देश पठाउँदै श्रीमती कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेको, आफूले शव अर्को कोठामा सारेको तथा डरका कारण त्यहाँबाट निस्किएको उल्लेख गर्दै ताला खोली कानुनी प्रक्रिया पूरा गरिदिन अनुरोध गरेका थिए।

स्थानीयवासीका अनुसार गुप्तालाई आइतबार साँझ करिब ५ बजे दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो। त्यसयता उनी सम्पर्कमा आएका छैनन्।

प्रहरीका अनुसार विद्यालय परिसरभित्र महिलाको शव फेला परेको सूचनापछि प्रहरी टोली घटनास्थल पुगेको थियो। शव पोस्टमार्टमका लागि पठाइएको छ। मृत्युको वास्तविक कारण खुल्न बाँकी रहेको र सम्पर्कविहीन रहेका रतन गुप्ताको खोजीसमेत तीव्र पारिएको प्रहरीले जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *