स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सुनसरी–सिरहा घटनाको निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न सांसद पारसमणि गेलालको आग्रह

सुनसरी । प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज तथा सिरहाको गोलबजार क्षेत्रमा भएका दुःखद घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

शनिबार जारी प्रेस विज्ञप्तिमार्फत उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सामाजिक सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरिएको छ।

सांसद गेलालले घटनाको निष्पक्ष छानबिन गरी वास्तविक दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा निर्दोष नागरिकमाथि कुनै पनि प्रकारको अन्याय वा त्रास सिर्जना हुन नदिन सम्बन्धित निकायलाई विशेष ध्यान दिन आग्रह गरेका छन्।

त्यसैगरी सरकार, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न, पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न अनुरोध गरेका छन्।

विज्ञप्तिमार्फत नागरिक, राजनीतिक दल, धार्मिक तथा सामुदायिक अगुवा, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अफवाह वा अपुष्ट सूचना नफैलाउन तथा कुनै पनि समुदायबीच द्वेष फैलाउने गतिविधिबाट टाढा रहन पनि आग्रह गरिएको छ।

अन्त्यमा सांसद गेलालले “प्रतिशोध होइन न्याय, विभाजन होइन एकता” भन्ने सन्देश दिँदै कानुनको शासन, सामाजिक सद्भाव र राष्ट्रिय एकताको संरक्षणका लागि सम्पूर्ण नेपालीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *