स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

झापामा लागूऔषधविरुद्ध प्रहरीको ठूलो सफलता : ब्राउन सुगर, ११ हजारभन्दा बढी ट्रामाडोलसहित पाँच पक्राउ

झापा | झापामा लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले शनिबार दुई छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै पाँच जनालाई पक्राउ गरेको छ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कन्काई नगरपालिका–२ स्थित एस फुल सेकुवा कर्नरमा छापा मारेर दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, कुरसाकट्टा–७ तकियाटोलका २८ वर्षीय महमद एहवाल र कुरसाकट्टा–८ छिप्टिया टोलका २७ वर्षीय अझर अन्सारी रहेका छन्। उनीहरूको साथबाट १०२ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर, ७ हजार २०० वटा ट्रामाडोल क्याप्सुल, ७ हजार ४५० वटा निटाजेन ट्याब्लेट तथा दुई थान एन्ड्रोइड मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय दमकले शनिबार साँझ करिब ५:३० बजे दमक नगरपालिका–५ स्थित आकाशे पुल नजिक पूर्वाञ्चल बेकरी अगाडिको सार्वजनिक सडकमा गरेको अर्को कारबाहीमा तीन जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा निगरानी बढाइएका क्रममा को ३४ प २६८९ र मे ६ प १८२७ नम्बरका दुई स्कुटरमा आएका व्यक्तिहरूको खानतलासी गर्दा १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर र ४ हजार १६० वटा ट्रामाडोल क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ।

यस घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहराका ३४ वर्षीय बुद्ध राई, मोरङको मिक्लाजुङ गाउँपालिका–२ की २३ वर्षीया रोमी लिम्बू र दमक नगरपालिका–७ का २२ वर्षीय करण मल्लिक पक्राउ परेका छन्। प्रहरीले दुवै स्कुटरसमेत नियन्त्रणमा लिएको छ।

प्रहरीले पक्राउ परेका पाँचै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *