स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

धरानको पिण्डेश्वर बोलबम मेलामा यस वर्ष रात्रिकालीन जल अर्पण बन्द, बिहान ५ बजेदेखि मात्रै पूजा

धरान । धरानस्थित श्री पिण्डेश्वर बाबाधाम समितिले यस वर्षको श्रावण महिनामा सञ्चालन हुने पिण्डेश्वर बोलबम मेलामा रात्रिकालीन दर्शन तथा जल अर्पण स्थगित गरिएको जनाएको छ।

समितिका अध्यक्ष विकासकुमार बनेपालीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा हालै भएको धार्मिक तथा सामाजिक तनावका कारण उत्पन्न सुरक्षा अवस्थालाई मध्यनजर गर्दै भक्तजनहरूको सुरक्षालाई प्राथमिकता दिई यो निर्णय गरिएको हो।

समितिले उक्त घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सबै धर्मावलम्बीलाई आपसी सहिष्णुता कायम राख्न र समस्याको समाधान वार्ता तथा संवादमार्फत खोज्न आग्रह गरेको छ।

समितिका अनुसार भगवान् शिवको प्रिय श्रावण महिनामा पिण्डेश्वर बोलबम मेलाको विशेष धार्मिक महत्व छ। नेपालमा बोलबम मेलाको सुरुवात पिण्डेश्वरबाटै भएको विश्वास गरिन्छ। २०४०/४१ सालदेखि निरन्तर सञ्चालन हुँदै आएको यस मेलामा भक्तजनले चतरास्थित कोशी नदीबाट पवित्र जल ल्याई गेरुवा वस्त्र धारण गरेर श्री पिण्डेश्वरमा अर्पण गर्ने परम्परा रहिआएको छ।

विगतमा भक्तजन आइतबार रातिदेखि नै मन्दिर परिसरमा भेला भई सोमबार लाग्नेबित्तिकै जल अर्पण गर्ने चलन रहे पनि यस वर्ष सुरक्षा संवेदनशीलताका कारण रातिको पूजा र जल चढाउने व्यवस्था नरहने समितिले स्पष्ट पारेको छ।

समितिले सबै भक्तजनलाई बिहान ५ बजेदेखि मात्रै पिण्डेश्वर बोलबम मेलामा सहभागी भई जल अर्पण गर्न अनुरोध गर्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ। भक्तजनहरूको सुरक्षा नै समितिको प्रमुख चासो रहेको विज्ञप्तिमा उल्लेख छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *