इटहरी | प्रेम, विश्वास, विछोड र संघर्षको भावनात्मक कथा बोकेको नेपाली चलचित्र ‘लज्जावती’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छोटो समयमै लोकप्रिय बन्दै युट्युबको मुभिज चार्टअन्तर्गत ‘ट्रेन्डिङ २०’ मा पर्न सफल भएको छ।
साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरले हालसम्म एक लाख १५ हजारभन्दा बढी भ्युज प्राप्त गर्दै दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। ट्रेलरमा प्रेम, विश्वास, धोका, आर्थिक अभाव, सामाजिक दबाब र पारिवारिक जिम्मेवारीबीचको संघर्षलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ।
ट्रेलरले दुई परिवारबीचको आत्मीय सम्बन्ध परिस्थितिका कारण कसरी जटिल मोडमा पुग्छ भन्ने कथा मार्मिक रूपमा देखाएको छ। जीवनका उतारचढाव, सम्बन्धमा आउने दरार र त्यसपछिको संघर्षलाई भावनात्मक रूपमा प्रस्तुत गरिएकाले ट्रेलरले दर्शकको मन जित्न सफल भएको प्रतिक्रिया आएको छ।
युट्युबमा दर्शकहरूले कलाकारहरूको स्वाभाविक अभिनय, प्रभावशाली संवाद, उत्कृष्ट छायांकन तथा पृष्ठभूमि संगीतको प्रशंसा गर्दै चलचित्रप्रति उत्सुकता व्यक्त गरेका छन्।
चलचित्रमा मुकुन भुसाल–जानुका विश्वकर्मा तथा श्रीकृष्ण निरौला–मेनुका माझी मुख्य भूमिकामा छन्। यसै चलचित्रमार्फत मेनुका माझीले नेपाली चलचित्रमा मुख्य अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् भने श्रीकृष्ण निरौला पहिलो पटक मुख्य भूमिकामा देखिएका छन्। नयाँ जोडीप्रति दर्शकले देखाएको सकारात्मक प्रतिक्रिया चलचित्रका लागि उत्साहजनक मानिएको छ।
यसका साथै चलचित्रमा केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
निर्देशक राजबहादुर सानेका अनुसार ‘लज्जावती’ मनोरञ्जनसँगै जीवनका यथार्थ पक्ष र मानवीय सम्बन्धका संवेदनशील आयाम प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र हो।
आहा फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता सौरभ वली हुन् भने निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया रहेका छन्। कार्यकारी निर्माता दिनेश बुढाथोकी, छायांकन दिव्यराज सुवेदी, सम्पादन तारा थापा ‘किम्भे’ तथा द्वन्द्व निर्देशन देव महर्जनको रहेको छ। चलचित्रलाई देशभर कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ।
डिजिटल प्लेटफर्ममा ट्रेलरले पाएको उत्साहजनक प्रतिक्रिया र सामाजिक सञ्जालमा भइरहेको चर्चाले ‘लज्जावती’ प्रदर्शनअघि नै दर्शकमाझ प्रतीक्षित चलचित्रका रूपमा स्थापित हुँदै गएको संकेत गरेको छ।














