इटहरी । गायक बालकृष्ण कार्की र गायिका गंगा गौतम आचार्यको स्वरमा सजिएको पूर्वेली भाकाको नयाँ दोहोरी गीत ‘माया जालैमा’ को म्युजिक भिडियो शनिबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।
म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा इटहरीका गीत–संगीतप्रेमी, कलाकार तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले गीत र भिडियोको प्रशंसा गर्दै सर्जक टोलीलाई सफलताको शुभकामना दिएका थिए।
गीतका शब्द तथा परिकल्पना बालकृष्ण कार्कीको रहेको छ भने संगीत संयोजन राम कार्कीले गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ राजकुमार बगरले गरेका हुन्।
गीतको रेकर्डिङ इटहरीस्थित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो तथा काठमाडौंस्थित त्रिवेणी डिजिटल रेकर्डिङ स्टुडियोमा गरिएको हो। म्युजिक भिडियोको छायाङ्कन तथा दृश्य निर्माण सुमन योन्जनले गरेका छन्।
‘माया जालैमा’ गीतमा बालकृष्ण कार्की र गंगा गौतम आचार्यले पूर्वेली लोकभाकाको मौलिक स्वादलाई दोहोरी शैलीमा आकर्षक ढंगले प्रस्तुत गरेका छन्। सुमधुर शब्द, संगीत र दृश्य संयोजनका कारण गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको सर्जक टोलीले जनाएको छ।














