स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

मुक्तिनाथबाट दोस्रो गछिया गोल्डकप–२०८३ को शुभारम्भ संकेत, कोरोला नाकामा फहराइयो गछिया युवा समाजको झण्डा


सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–३ स्थित गछिया युवा समाजले आयोजना गर्न लागेको ‘दोस्रो गछिया गोल्डकप–२०८३’ को तयारी औपचारिक रूपमा अघि बढाएको छ। प्रतियोगिताको प्रचारप्रसार तथा शुभारम्भको संकेतस्वरूप समाजले ‘Coming Soon’ लेखिएको प्रतियोगिताको ब्यानर मुस्ताङस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ धाममा सार्वजनिक गरेको हो।

गछिया युवा समाजका अध्यक्ष सरोज दाहालका अनुसार गत वर्ष सम्पन्न पहिलो संस्करणको गछिया गोल्डकपको ब्यानर ताप्लेजुङस्थित पाथिभरा मन्दिरमा सार्वजनिक गरिएको थियो। यस वर्ष दोस्रो संस्करणलाई अझ विशेष र स्मरणीय बनाउने उद्देश्यले मुक्तिनाथ धामबाट ब्यानर सार्वजनिक गरिएको उनले बताए।

उनका अनुसार यसपटक प्रतियोगिता अघिल्लो संस्करणभन्दा अझ व्यवस्थित, परिष्कृत र आकर्षक ढंगले सञ्चालन गरिनेछ। पुरस्कार राशिसमेत गत वर्षको तुलनामा वृद्धि गरिने तयारी रहेको छ। प्रतियोगिताको मिति, सहभागी टोली, पुरस्कार विवरण तथा अन्य कार्यक्रमहरू भने केही दिनभित्र सार्वजनिक गरिने आयोजकले जनाएको छ।

मुक्तिनाथ भ्रमणका क्रममा गछिया युवा समाजको टोली नेपाल–चीन सीमास्थित कोरोला नाका समेत पुगेको थियो। त्यहाँ समाजको झण्डा फहराउँदै खेलकुदमार्फत संस्थाको पहिचानलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने सन्देश दिएको अध्यक्ष दाहालले बताए।

स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासित, स्वस्थ र प्रतिस्पर्धी वातावरण निर्माण गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको दोस्रो गछिया गोल्डकपप्रति अहिले नै खेलप्रेमी तथा स्थानीयवासीमा उत्साह बढ्दै गएको छ। आयोजकले प्रतियोगितालाई यस वर्ष अझ भव्य, व्यवस्थित र स्मरणीय बनाउने लक्ष्यसहित तयारीलाई तीव्रता दिएको जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *