इटहरी । मायाघर इटहरीको नाममा रकम संकलन गरेर संस्थालाई नदिएको भन्ने आरोपबारे स्पष्टता खोज्दै राधिका फाउन्डेसनको टोली सोमबार मायाघर पुगेको छ।
मायाघरकी अध्यक्ष सुभद्रा प्याकुरेलले केही दाताबाट यस्तो गुनासो आएको र त्यस सम्बन्धमा राधिका फाउन्डेसनलाई पत्राचार गरी जवाफ माग्ने जानकारी दिएपछि फाउन्डेसनका पदाधिकारी छलफलका लागि मायाघर पुगेका हुन्।
छलफलका क्रममा फाउन्डेसनका प्रतिनिधिहरूले आरोप पुष्टि हुने प्रमाण प्रस्तुत गर्न वा आरोप फिर्ता लिएर माफी माग्न आग्रह गरेका थिए।
यस क्रममा अध्यक्ष प्याकुरेलले एक व्यक्तिको फोटो देखाउँदै, ती व्यक्तिले काठमाडौँमा आयोजित एक धार्मिक कार्यक्रममा आफूले मायाघरका लागि ५५ लाख रुपैयाँ र एक ट्रक सामान सहयोग गरेको दाबी गरेको बताइन्। उनले उक्त विषयमा राधिका दासीबाट स्पष्टिकरण अपेक्षा गरिएको उल्लेख गरिन्।
जवाफमा राधिका दासीले सम्बन्धित व्यक्तिलाई आफूले विश्वास गर्न नसक्ने व्यक्ति भएको दाबी गर्दै, उनीमाथि पुराणका क्रममा रकम लिएर फरार भएको आरोप लगाइन्। उनले कुनै पनि आरोप प्रमाणका आधारमा मात्र पुष्टि हुनुपर्ने बताउँदै, “आरोप लगाएर मात्र हुँदैन, कागजी प्रमाण चाहिन्छ। मायाघरको पैसा खानुपर्ने अवस्था मेरो छैन,” भनिन्।
छलफलका अन्त्यमा राधिका फाउन्डेसनले मायाघरलाई औपचारिक पत्र बुझाएको जनाएको छ। अध्यक्ष प्याकुरेलले उक्त पत्रको जवाफ संस्थाको बैठकपछि दिने बताएकी छन्। छलफल भने कुनै निष्कर्षमा नपुगी टुंगिएको बताइएको छ।
नोट: माथि उल्लेखित सबै दाबी सम्बन्धित पक्षहरूले सार्वजनिक रूपमा व्यक्त गरेका भनाइमा आधारित हुन्। आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।














