स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

सरोज न्यौपाने मृत्यु प्रकरण : बुबा, सौतेनी आमा र दुई काकालाई पाँच दिनको म्याद थप

इटहरी । इटहरी उपमहानगरपालिका–९ भद्रटोलस्थित नन्द बिष्टको घरमा डेरा गरी बस्दै आएका तथा जनता माध्यमिक विद्यालय, इटहरीमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय सरोज न्यौपानेको मृत्यु प्रकरणमा पक्राउ परेका उनका बुबा, सौतेनी आमा र दुई काकालाई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार सरोजलाई शारीरिक तथा मानसिक यातना दिई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका बुबा बुद्धिसागर न्यौपाने, सौतेनी आमा मुना न्यौपाने तथा काकाद्वय अशोक न्यौपाने र नवराज न्यौपानेविरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी कसुरमा जाहेरी दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

बुधबार सरोजको शव मावली पक्षलाई जानकारी नै नदिई दाहसंस्कार गर्न लागिएको भन्दै उनका साथीहरू र विद्यालयका विद्यार्थीहरूले विरोध जनाएका थिए। परिवारकै शारीरिक तथा मानसिक यातनाका कारण सरोज आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै उनीहरूले शव नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धानको माग गरेका थिए।

आन्दोलन चर्किएपछि विद्यार्थीहरूले सरोज बस्दै आएको घर घेराउ गर्दै घटनाको सूक्ष्म अनुसन्धान, दोषीमाथि कडा कानुनी कारबाही तथा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए। त्यसपछि प्रहरीले सरोजका बुबा, सौतेनी आमा र दुई काकालाई पक्राउ गरेको हो। शवलाई थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) को शवगृहमा राखिएको थियो।

बुधबार साँझ विद्यार्थीहरूले श्रद्धाञ्जली र्‍याली तथा कोणसभा आयोजना गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग दोहोर्याए। उनीहरूले सरोजको आँखामा स्पष्ट चोट देखिएको भए पनि प्रारम्भिक अनुसन्धानका क्रममा त्यसतर्फ पर्याप्त ध्यान नदिइएको र आन्दोलनपछि मात्र पक्राउ प्रक्रिया अघि बढाइएको भन्दै प्रहरीको भूमिकाप्रति असन्तुष्टि जनाए।

बिहीबार पनि विद्यार्थीहरूले इटहरीको मुख्य चोकमा प्रदर्शन गर्दै सरोजलाई न्याय दिलाउन, पक्राउ परेकाहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिन तथा निष्पक्ष अनुसन्धान गर्न माग गरे। त्यसक्रममा उनीहरूले इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेललाई भेटेर घटनामा दोषीमाथि कडा कानुनी कारबाहीका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए।

मेयर पौडेलले सरोजको मृत्यु अत्यन्त दुःखद भएको बताउँदै घटनाको निष्पक्ष अनुसन्धान, सत्यतथ्य सार्वजनिक गर्न र कानुनी प्रक्रियामा उपमहानगरपालिकाबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *