काठमाडौं । नेपालकै अग्रणी खुद्रा व्यापारिक संस्था भाटभटेनी सुपरमार्केटले आफ्ना केही शाखामा २४सै घण्टा सेवा सञ्चालन गर्ने पाइलट कार्यक्रम सुरु गरेको छ। कम्पनीले पहिलो चरणमा भक्तपुर शाखाबाट २४ घण्टा सेवा सुरु गर्ने घोषणा गरेको हो।
कम्पनीका अनुसार रातिको समयमा काम गर्ने कर्मचारीलाई प्रोत्साहनस्वरूप नियमित पारिश्रमिकमा २५ प्रतिशत अतिरिक्त भत्ता प्रदान गरिनेछ। यस व्यवस्थाले कर्मचारीको मनोबल बढाउनुका साथै रातिको सेवालाई प्रभावकारी बनाउने विश्वास गरिएको छ।
भाटभटेनीले ग्राहकलाई जुनसुकै समयमा पनि आवश्यक दैनिक उपभोग्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले २४सै घण्टा सेवा सञ्चालनको अवधारणा अघि सारेको जनाएको छ। पाइलट कार्यक्रम सफल भए अन्य शाखाहरूमा पनि क्रमशः विस्तार गरिने कम्पनीको तयारी रहेको छ।
२४ घण्टा सेवा सञ्चालनसँगै आकस्मिक किनमेल, स्वास्थ्यसम्बन्धी आवश्यक सामग्री तथा दैनिक उपभोग्य वस्तु रातिको समयमा पनि सहज रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ। साथै, यस कदमले खुद्रा व्यापार क्षेत्रमा सेवा विस्तार र रोजगारीका अवसरसमेत बढाउने विश्वास गरिएको छ।














