स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमिति द्वारा बालेन शाह प्रधानमन्त्री लाई ज्ञापन–पत्र, ३ दिनभित्र माग पूरा नभए आन्दोलनको चेतावनी

इटहरी | नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले देवानगञ्ज गाउँपालिकामा भएको गोलीकाण्डका पीडित परिवारसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापन–पत्र पठाइएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए।
कांग्रेस सुनसरीका जिल्ला सभापति केदार भण्डारीलगायतका नेताद्वारा हस्ताक्षरित ज्ञापन–पत्रमा गत साउन १० गते राति करिब १० बजे देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जको नयाँ हटियामा भएको गोलीकाण्डप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ। ज्ञापन–पत्रमा बिना कारण गोली चलाउँदा नागरिकको ज्यान गएको उल्लेख गरिएको छ।

उक्त घटनामा ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहताको मृत्यु भएको थियो। त्यसपछि भएको आन्दोलनका क्रममा सिराहाको गोलबजारका गणेश यादवको पनि गोली लागेर मृत्यु भएको थियो।

ज्ञापन–पत्रमा राज्यका गृहमन्त्रीजस्तो जिम्मेवार व्यक्तिको उपस्थितिमा मृतकका परिवार र घाइतेसँग भएको सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै सरकारप्रति आपत्ति जनाइएको छ।
कांग्रेसले आगामी तीन दिनभित्र आफ्ना माग कार्यान्वयन नभए नेपाली कांग्रेस सुनसरी चरणबद्ध शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुने तथा त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने चेतावनी दिएको छ।
पार्टीले गृहमन्त्री र पीडित परिवारबीच भएको सम्झौता तत्काल कार्यान्वयन गर्न, घटनाको छानबिनका लागि न्यायिक समिति वा आयोग गठन गर्न, घाइतेहरूको अवस्था सार्वजनिक गरी सुविधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था गर्न, घटनाबाट प्रभावित नागरिक तथा व्यवसायीलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र जिल्लामा शान्ति, सुरक्षा तथा अमनचयन कायम गर्न प्रभावकारी व्यवस्था मिलाउन माग गरेको जिल्ला सचिव साहले जानकारी दिए।
ज्ञापन–पत्रमा जिल्ला सभापति केदार भण्डारीसहित क्षेत्रीय सभापति, महासमिति सदस्य, प्रदेशसभा सभापति, नगर सभापति तथा प्रदेश प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *