सुन्दरहरैंचा(मोरङ) : मोरङको सुन्दरहरैंचा–९ स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीमद्भवितक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम सुरु भएको छ। साउन १६ गतेदेखि सुरु भएको धार्मिक कार्यक्रम भदौ १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कथावाचकले श्रीकृष्णका जीवन, विचार र धार्मिक प्रसंगमा आधारित कथा तथा प्रवचन प्रस्तुत गरिरहेका छन्। कार्यक्रममा भक्तजन तथा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको छ।
शनिबार आयोजित कार्यक्रममा स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्रप्रसाद चम्लागाईं प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। सो अवसरमा उनले समाजमा बढ्दै गएको विकृति, विसंगति तथा युवापुस्तामा देखिएको कुलत न्यूनीकरणका लागि धार्मिक तथा आध्यात्मिक कार्यक्रमले सकारात्मक भूमिका खेल्न सक्ने बताए।
कार्यक्रम आयोजक मूल समारोहका अध्यक्ष युवराज पौडेलले श्रीमद्भागवत चर्चा तथा श्रीकृष्ण कथा प्रवचनको मुख्य उद्देश्य भगवान् श्रीकृष्णका जीवन र शिक्षाबारे जानकारी गराउँदै समाजमा धार्मिक तथा आध्यात्मिक चेतना कायम गर्नु रहेको बताए। उनले पछिल्लो समय बालबालिका तथा युवामा बढ्दै गएको कुलत नियन्त्रणका लागि पनि यस्ता धार्मिक कार्यक्रम प्रभावकारी हुने धारणा राखे।
कार्यक्रममा सहभागी श्रद्धालुहरूले कथावाचन तथा प्रवचन श्रवण गर्नुका साथै पूजाआजा र भक्तिभावमा सहभागी भइरहेका छन्। आयोजकका अनुसार धार्मिक कथा, प्रवचन तथा आध्यात्मिक गतिविधिमार्फत समाजमा प्रेम, सद्भाव, सेवा भावना र सकारात्मक सोचको विकास गर्ने उद्देश्य राखिएको छ। श्रीमद्भवितक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम भदौ १९ गते श्रीकृष्ण जन्माष्टमीको दिन रथ सोभायात्रा परिकर्मा गराएर कार्यक्रम समापन हुनेछ।














