स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

इटहरीमा गुञ्जिँदै नेपथ्य : कार्तिक १८ गते रंगशालामा भव्य कन्सर्ट

इटहरी । नेपाली संगीतको क्षेत्रमा तीन दशकदेखि निरन्तर आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित साङ्गीतिक समूह नेपथ्य पहिलोपटक इटहरीमा गुञ्जिने भएको छ। गायक अमृत गुरुङको नेतृत्वमा रहेको नेपथ्यले आगामी कार्तिक १८ गते इटहरी रंगशालामा भव्य प्रस्तुति दिने भएको हो।

पूर्वाञ्चल इभेन्ट्स प्रालि इटहरीको आयोजनामा हुने कन्सर्टलाई पूर्वी नेपालकै विशेष साङ्गीतिक कार्यक्रमका रूपमा प्रस्तुत गर्ने तयारी गरिएको छ। आयोजकले कन्सर्टमा १० हजारभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरेको छ।

पूर्वाञ्चल इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक राजकुमार कार्कीका अनुसार कन्सर्टको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। दर्शकलाई अविस्मरणीय साङ्गीतिक अनुभव प्रदान गर्ने गरी मञ्च व्यवस्थापन, सुरक्षा, दर्शक व्यवस्थापनलगायतका तयारीलाई प्राथमिकतामा राखिएको उनले बताए।

नेपथ्यलाई पहिलो पटक इटहरीमा ल्याउन पाउँदा हामी निकै उत्साहित छौँ। दर्शकलाई उत्कृष्ट साङ्गीतिक अनुभव दिलाउने गरी तयारी गरिरहेका छौँ,’ कार्कीले भने।

कन्सर्टका लागि टिकट बिक्रीसमेत सुरु भइसकेको छ। सामान्यतर्फको टिकट १ हजार ५ सय रुपैयाँ तोकिएको छ भने अर्ली बर्ड अफरअन्तर्गत १ हजार रुपैयाँ र विद्यार्थीका लागि पनि १ हजार रुपैयाँमा टिकट उपलब्ध गराइएको आयोजकले जनाएको छ।

टिकट nepathya.com.np मार्फत अनलाइन खरिद गर्न सकिनेछ। साथै, इटहरी–४, आइतबारेस्थित दुर्गा पार्टी प्यालेसमा रहेको कन्सर्ट सचिवालयबाट पनि टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

नेपथ्य नेपाली लोक, रक तथा आधुनिक संगीतलाई आफ्नै शैलीमा प्रस्तुत गर्ने लोकप्रिय ब्यान्डका रूपमा स्थापित छ। ‘रेशम’, ‘जोमसोमे बजारमा’, ‘छेक्यो छेक्यो’, ‘सा कर्णाली’ लगायतका चर्चित गीतमार्फत नेपाली संगीतप्रेमीको मनमा गहिरो छाप छोडेको नेपथ्यको इटहरी कन्सर्टलाई लिएर स्थानीय संगीतप्रेमीसमेत उत्साहित देखिएका छन्।

आयोजकका अनुसार नेपथ्यको संगीतसँगै हजारौँ दर्शकलाई एउटै मञ्चमा जोड्दै इटहरीलाई साङ्गीतिक रूपमा विशेष बनाउने उद्देश्यले कन्सर्ट आयोजना गर्न लागिएको हो। कार्तिक १८ गते इटहरी रंगशालामा हुने कार्यक्रम पूर्वी नेपालका संगीतप्रेमीका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *