स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

प्राकृतिक सौन्दर्यदेखि पर्यटन सम्भावनासम्म : घ्याङलेखका सेमथान र कुलिङ झर्ना पर्यटकको रोजाइमा

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–१, अमले प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनाले भरिपूर्ण क्षेत्रका रूपमा चिनिन थालेको छ। यहाँ रहेका सेमथान झर्ना र कुलिङ झर्ना पछिल्लो समय स्थानीय युवाहरूको सक्रियता र सामूहिक पहलका कारण नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुने दिशामा अघि बढिरहेका छन्।

प्राकृतिक रूपमा सुन्दर यी झर्नाहरू मनोरञ्जनका स्थल मात्र नभई स्थानीय प्राकृतिक सम्पदा, जैविक विविधता, संस्कृति र ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्ने महत्वपूर्ण आधार बन्न सक्ने देखिएको छ।

स्थानीय युवाहरूले आफ्नो क्षेत्रको पर्यटन सम्भावना पहिचान गर्दै पूर्वाधार निर्माण, सरसफाइ, संरक्षण तथा प्रचार–प्रसारमा सक्रियता देखाउँदै आएका छन्। आफ्नै गाउँमा रहेका प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमार्फत पर्यटन विकास गर्न सकिन्छ भन्ने सकारात्मक उदाहरणका रूपमा समेत यसलाई लिन सकिन्छ।

सेमथान र कुलिङ झर्नाको व्यवस्थित विकासका लागि सडक तथा पदमार्ग निर्माण, सूचना–संकेत बोर्ड, खानेपानी, सरसफाइ, सुरक्षा र अन्य आवश्यक पर्यटकीय पूर्वाधारको विकास आवश्यक देखिएको छ। प्राकृतिक मौलिकतालाई संरक्षण गर्दै योजनाबद्ध रूपमा पर्यटन प्रवर्द्धन गर्न सके यस क्षेत्रले स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउनुका साथै रोजगारी र स्वरोजगारका अवसरसमेत सिर्जना गर्न सक्ने सम्भावना छ।

स्थानीय सरकार, समुदाय, युवाशक्ति र सरोकारवाला निकायबीच सहकार्य हुन सके सेमथान र कुलिङ झर्ना घ्याङलेख गाउँपालिकाको मात्र नभई समग्र सिन्धुली जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना रहेको स्थानीयको भनाइ छ।

प्राकृतिक सम्पदाको संरक्षणसँगै स्थानीय पर्यटन प्रवर्द्धनमा जोड दिन सके घ्याङलेखको पर्यटन विकासले नयाँ गति लिन सक्ने देखिन्छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *