सुनसरी । साउनको अन्तिम सोमबार सुनसरीस्थित त्रिनेत्र मोक्षधाममा विशेष धार्मिक कार्यक्रम आयोजना गरिएको छ। धाममा स्थापित १०८ शिवलिङ्गमा जलाभिषेकसहित विभिन्न धार्मिक तथा आध्यात्मिक कार्यक्रम सञ्चालन गरिएको हो।
साउनको अन्तिम सोमबार बिहानैदेखि त्रिनेत्र मोक्षधाममा भक्तजनको उल्लेख्य भीड लागेको थियो। नेपालका प्रथम जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले सप्तकोशी (कौशिकी) नदीबाट जल ल्याई धाममा स्थापित १०८ शिवलिङ्गमा जलाभिषेक गर्नुभएको थियो।
जलाभिषेकपछि जगद्गुरु बालसन्तले भगवान् शिवको आराधना, जलाभिषेकको धार्मिक महत्त्व तथा साउन महिनाको आध्यात्मिक पक्षबारे प्रवचनसमेत दिनुभएको थियो।
त्रिनेत्र मोक्षधाम सेवा समितिका अध्यक्ष बाबुराम सुवेदीका अनुसार करिब एक वर्षअघि स्थापना भएको धाममा साउनको पहिलो सोमबारदेखि नै बोलबम मेला, भजन–कीर्तन तथा विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
साउन महिनाभर कोशी प्रदेशसहित आसपासका विभिन्न जिल्लाबाट धाममा भक्तजन आउने क्रम बढेको समितिले जनाएको छ। सुनसरी, मोरङ, धनकुटा, सप्तरीलगायत जिल्लाबाट हालसम्म १० हजारभन्दा बढी भक्तजनले धामको दर्शन तथा पूजाआजा गरिसकेको बताइएको छ।
धार्मिक आस्थाको केन्द्रका रूपमा विकास हुँदै गएको त्रिनेत्र मोक्षधामले सामाजिक सेवामा समेत योगदान गर्ने उद्देश्य लिएको छ। त्रिनेत्र आध्यात्मिक केन्द्र कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलका अनुसार धाममा संकलन हुने भेटी तथा अन्य रकम सामाजिक सेवामा परिचालन गरिनेछ।
विशेषगरी संकलित रकम ‘माया घर नेपाल’को सञ्चालन तथा व्यवस्थापनमा खर्च गरिने उहाँले बताउनुभयो।
धार्मिक आस्था, संस्कृति र सामाजिक सेवाको संयोजन गर्दै अघि बढिरहेको त्रिनेत्र मोक्षधाम पछिल्लो समय धार्मिक पर्यटनको सम्भावना बोकेको गन्तव्यका रूपमा समेत विकसित हुँदै गएको छ।
साउन महिनामा आयोजना हुने बोलबम मेला, शिव आराधना, भजन–कीर्तन तथा आध्यात्मिक कार्यक्रमले धाममा भक्तजनको आकर्षण थप बढाएको छ।














