काठमाडौं । प्रदर्शनको २४ दिनमा नेपाली चलचित्र ‘गौँथली’ले १९ करोड ७१ लाख रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस तथ्यांकअनुसार ‘गौँथली’ले आइतबार रातिसम्म १९ करोड ७१ लाख ६ हजार ५ रुपैयाँ कलेक्सन गरेको हो। यस अवधिमा चलचित्रलाई ७ लाख १५ हजार १ सय ९८ दर्शकले हलमै पुगेर हेरेका छन्।
साउन १ गतेदेखि प्रदर्शनमा आएको ‘गौँथली’ छोटो समयमै उच्च कलेक्सन गर्ने नेपाली चलचित्रको सूचीमा परेको छ। यसअघि ‘पूर्ण बहादुरको सारङ्गी’ले सबैभन्दा छोटो समयमा उच्च कलेक्सन गर्ने चलचित्रको रेकर्ड बनाएको थियो। त्यसपछि ‘गौँथली’ छोटो समयमा धेरै कलेक्सन गर्ने चलचित्रको सूचीमा दोस्रो स्थानमा पुगेको हो।
चलचित्रले पछिल्ला दिनमा समेत दैनिक एक करोड रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको निर्माण पक्षले जनाएको छ। सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रप्रति दर्शकको आकर्षण कायमै रहेको र हलमा दर्शकको चाप नघटेको बताइएको छ।
‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना लगायतका कलाकारको अभिनय रहेको छ।
डा. भोला रिजालको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन्।
घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको चलचित्रको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।














