स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

कोसी साहित्य –कला परिषद् नेपालको अध्यक्षमा पुनः केशु विरही

मोरङ : कोसी साहित्य–कला परिषद् नेपालको अध्यक्षमा लेखक तथा अनुसन्धाता केशु विरही निर्वाचित भएका छन् । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा हालै सम्पन्न साधारण सभाले विरहीलाई संस्थाको अध्यक्षमा छानेको हो ।

यसअघिको तदर्थ समितिमा पनि विरही नै अध्यक्ष रहेका थिए ।
११ सदस्यीय समितिको उपाध्यक्षमा विष्णु भण्डारी आचार्य, सचिवमा नवराज पोखरेल ‘नवशिला’, सहसचिवमा गीता कुलुङ राई, कोषाध्यक्षमा चिरञ्जीवी काफ्ले निर्वाचित भएका छन् । त्यस्तै समितिका सदस्यहरूमा प्रिन्स प्रमोदकुमार ढकाल, मनोज विश्वकर्मा, नवीन थापा क्षेत्री, खेमचन्द्र अधिकारी, अम्बिकाप्रसाद कोइराला ‘अकेला’, एकराज भट्टराई रहेका छन् ।

कार्यक्रममा हर्कमान तामाङ, अमृतप्रसाद आचार्य, धनजित पराजुली, तिला लेकालीलगायतका स्रष्टाहरूको शुभकामना मन्तव्य रहेको थियो । उक्त कार्यक्रममा झापा, मोरङ तथा सुनसरीका विभिन्न पालिकाका भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका स्रष्टा÷कलाकारहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आ.व. २०८२/०८३ को संस्थाको प्रगति प्रतिवेदन अध्यक्ष र आर्थिक प्रतिवेदन कोषाध्यक्षद्वारा प्रस्तुत गरिएको थियो ।
कार्य समितिको अध्यक्षमा चयन भएलगत्तै संस्थाका अध्यक्ष विरहीले पहिलो कार्यकालमा संस्थाको दिगो विकासका लागि स्पष्ट आधार तयार पार्ने बताए । संस्थाको अवधारणकर्तासमेत रहेका विरहीले संस्थाको पहिलो बैठक बसेर आगामी कार्यक्रमका बारेमा तय गर्ने बताउँदै आफूहरूको जोड भनेको सबै स्रष्टा/कलाकारलाई अटाउने एउटा साझा संस्था बनाउने रहेको बताए ।

उनले भने, ‘हाम्रो जोड भनेको कोसी साहित्य–कला परिषद् नेपाललाई स्रष्टा/कलाकारको एउटा साझा संस्था बनाउने रहनेछ । हामी संस्थालाई एउटा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजनामा छौँ । संस्थाले एउटा प्रादेशिक पुस्तकालय तथा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्न पहलकदमी लिनेछ, जहाँ स्रष्टा/कलाकारका लागि आवासीय व्यवस्थासमेत रहनेछ ।’

स्मरण रहोस् यस संस्थाले भड्किलो तथा खर्चिलो साहित्यिक कार्यक्रमलाई मितव्ययी बनाउन खादा मालाको प्रयोग नगर्ने, मञ्चलाई अतिथि आसनका लागि नभएर कार्यक्रमका लागि मात्र प्रयोग गर्ने, संस्थालाई साझा चौतारीका रूपमा विकास गर्ने, निःशुल्क बौद्धिक कार्य नलाउने, योगदान र क्षमताका आधारमा मूल्याङ्कन गर्ने, कुनै पनि राजनीतिक पार्टीको कार्यकारी पदमा रहेका व्यक्तिलाई नेतृत्वमा नल्याउने आदि कार्यको थालनी गरेर साहित्यमा पुराना मान्यतालाई तोड्दै नयाँ मान्यता स्थापित गरेको छ ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *