सुन्दरहरैंचा । पछिल्लो समय धार्मिक तथा सामुदायिक सद्भावमा चुनौती देखिन थालेका बेला युवाको भूमिका, जिम्मेवारी र सामाजिक उत्तरदायित्वबारे बहस आवश्यक रहेको सन्देशसहित मोरङको सुन्दरहरैंचामा नगरस्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले बुधबार आयोजना गरेको प्रतियोगितामा ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव प्रवर्द्धनमा युवा विद्यार्थीको भूमिका’ विषयमा विद्यार्थीहरूले आफ्ना धारणा प्रस्तुत गरेका थिए।
प्रतियोगितामा सुन्दरहरैंचाका विभिन्न माध्यमिक विद्यालयबाट ३७ जना विद्यार्थी सहभागी भएका थिए। सहभागी विद्यार्थीहरूले धार्मिक विविधताबीच सहिष्णुता, आपसी सम्मान, सामाजिक एकता, संवाद र भाइचाराको आवश्यकता तथा समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे आफ्ना विचार प्रस्तुत गरेका थिए।
प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालयकी छात्रा समृद्धि लुईटेल प्रथम भएकी छन्। त्यस्तै सुकुना माध्यमिक विद्यालयकी रेमीका चौधरी द्वितीय, टेन्टरफिट बोर्डिङ स्कुलकी प्रशंसा भण्डारी तृतीय तथा माउण्ट मकालुकी सोनिका सुवेदी सान्त्वना भएकी छन्। प्रतियोगी शरण परियारलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाका अध्यक्ष केवल लुईटेलले जानकारी दिए।
पछिल्लो समय देशका विभिन्न क्षेत्रमा धार्मिक तथा सामुदायिक तनावका घटना सार्वजनिक भइरहेका बेला युवालाई सहिष्णुता, संवाद र सामाजिक एकताको पक्षमा उभ्याउने उद्देश्यले प्रतियोगिताको विषय छनोट गरिएको आयोजकले जनाएको छ। विभिन्न धर्म, समुदाय, भाषा, संस्कृति र परम्परा भएको नेपाली समाजमा आपसी सम्मान र सहअस्तित्वको भावना अझ बलियो बनाउन विद्यालय तहदेखि नै सचेतनामूलक कार्यक्रम आवश्यक रहेको आयोजकको भनाइ छ।
कार्यक्रमका प्रमुख अतिथि युवा समाजसेवी टेकमणि न्यौपानेले पहिलो पाइला नेपालले युवाको सिर्जनात्मक क्षमता विकाससँगै सामाजिक उत्तरदायित्वका विषयमा कार्यक्रम सञ्चालन गर्नु प्रशंसनीय रहेको बताए।
उनले युवा समाज परिवर्तनका महत्वपूर्ण संवाहक भएकाले उनीहरूलाई सामाजिक, धार्मिक तथा सांस्कृतिक विषयमा सकारात्मक सोच विकास गराउन विद्यालय तहबाटै यस्ता कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। युवाले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलिन सक्ने गलत सूचना, घृणा र विभाजनकारी अभिव्यक्तिभन्दा माथि उठेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव केवल कुनै एक समुदायको जिम्मेवारी नभई सबै नागरिकको साझा दायित्व भएको धारणा राखेका थिए। उनीहरूले फरक धर्म, संस्कृति र विचारलाई सम्मान गर्दै संवादमार्फत समस्या समाधान गर्न सके समाजमा दीर्घकालीन शान्ति र एकता कायम गर्न सकिने बताएका थिए।
वक्तृत्वकला प्रतियोगितामा लेखक तथा पत्रकार रामप्रसाद खरेल र नेपाली शिक्षक तोयानाथ भट्टराई निर्णायकका रूपमा रहेका थिए। निर्णायकहरूले विद्यार्थीहरूको प्रस्तुति, विषयवस्तुको ज्ञान, तर्क प्रस्तुत गर्ने क्षमता, भाषाशैली तथा आत्मविश्वासका आधारमा मूल्यांकन गरेका थिए।
आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा वक्तृत्वकला, आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्नुका साथै सामाजिक तथा धार्मिक विषयमा गम्भीर रूपमा सोच्ने वातावरण निर्माण गरेको छ। यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिनुका साथै समाजमा सहिष्णुता, पारस्परिक सम्मान र सद्भावको महत्व बुझाउन महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ।
पहिलो पाइला नेपाल सुन्दरहरैंचा शाखाले युवाको क्षमता विकाससँगै सामाजिक उत्तरदायित्व, शिक्षा, सद्भाव र सकारात्मक परिवर्तनका क्षेत्रमा आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।














