इटहरी । रोटरी क्लब अफ इटहरीले विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा १४ वर्षसम्मका बालबालिकाका लागि निःशुल्क आँखा परीक्षण तथा उपचार कार्यक्रम सञ्चालन गर्ने भएको छ।
क्लबले जारी गरेको प्रेस नोटअनुसार आगामी भदौ ६ गते शनिबारदेखि प्रत्येक महिनाको पहिलो शनिबार इटहरी आँखा अस्पतालमा बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिनेछ। कार्यक्रममा आवश्यकताअनुसार दृष्टि परीक्षण, ल्याब परीक्षण, औषधि, चस्मा तथा आँखा बाङ्गिने (Squint) र मोतियाबिन्दुजस्ता समस्याको उपचारसमेत गरिनेछ।
आर्थिक अभावका कारण समयमै उपचार हुन नसक्दा बालबालिकाको सामान्य आँखाको समस्या पनि जटिल बन्न सक्ने भएकाले कार्यक्रम सञ्चालन गर्न लागिएको रोटरी क्लब अफ इटहरीका अध्यक्ष चेतन धमलाले बताए ।क्लबका सदस्यहरूको योगदान, दाताहरूको सहयोग तथा सामाजिक साझेदारीमार्फत कार्यक्रम सञ्चालन गरिनेछ।
रोटरी क्लबले विद्यालय तथा समुदायमा सेवा पुर्याउने लक्ष्यसहित वर्षभरिमा कम्तीमा २२ वटा विद्यालय तथा समुदायस्तरीय आँखा परीक्षण शिविर सञ्चालन गर्ने योजना बनाएको छ। ती शिविरमार्फत १० हजारभन्दा बढी बालबालिकाको आँखा परीक्षण गर्ने तथा कम्तीमा १०० जना बालबालिकाको उपचार गर्ने लक्ष्य राखिएको छ।
कार्यक्रमले बालबालिकाको आँखाको उपचारमा मात्र नभई अभिभावकमा जनचेतना अभिवृद्धि गर्ने, विद्यालयमा आँखा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने तथा बालबालिकाको शैक्षिक र सामाजिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास लिइएको छ।
विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुले बालबालिकाको आँखाको समस्या समयमै पहिचान र उपचार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए। आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकालाई समेत सहज रूपमा आँखा परीक्षण तथा उपचारको पहुँचमा ल्याउने उद्देश्यले कार्यक्रम अघि बढाइएको उनको भनाइ छ।
अभियान सफल बनाउन स्थानीय सरकार, विद्यालय, सञ्चारमाध्यम तथा सम्पूर्ण समुदायको सहयोग आवश्यक रहेको रोटरी क्लब अफ इटहरीले जनाएको छ।














