इटहरी । नेपाली साहित्यका चर्चित साहित्यकार अछा राई ‘रसिक’को ४७औँ स्मृति दिवसको अवसरमा इटहरीमा बहुभाषिक साहित्य गोष्ठी आयोजना हुने भएको छ।
अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान, इटहरीको आयोजनामा आगामी २०८३ साल साउन ३० गते शनिबार बिहान ९ बजे इटहरी–८, आइतबारेस्थित श्री विश्व–आदर्श कलेजमा साहित्यिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
प्रतिष्ठानका अनुसार कार्यक्रममा विभिन्न मातृभाषाका गीत, गजल तथा कविता प्रस्तुतिसहित बहुभाषिक साहित्य गोष्ठी सञ्चालन गरिनेछ। साहित्यकार तथा साहित्यप्रेमीहरूको सहभागितामा कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउने तयारी गरिएको प्रतिष्ठानले जनाएको छ।
अच्छा राई ‘रसिक’को जन्म सन् १९२७ अक्टोबर ११ मा भारतको दार्जिलिङस्थित धोबीटार, कृष्णनगरमा भएको थियो। सन् १९५१ अगस्ट १५ मा दार्जिलिङकै भिक्टोरिया अस्पतालमा निधन भएका उहाँले छोटो जीवनकालमै नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। उहाँको जीवनकाल जम्मा २४ वर्षको रहेको थियो।
२४ वर्षको छोटो जीवनकालमा उहाँले उपन्यास, कथा, निबन्ध तथा कविता क्षेत्रमा महत्वपूर्ण साहित्यिक कृति सिर्जना गर्नुभएको थियो। उहाँका रचनाहरू संकलन तथा पुस्तकाकार रूपमा समेत प्रकाशित भएका छन्। निधनपछि उहाँका कथाहरू समेटिएको ‘सप्तकोशी’, ‘लगान’, ‘दोषान’, ‘रसिक रचनावली’ लगायतका कृति प्रकाशित भएको सचिव जीवन कुमार राइले बताए।
अच्छा राई ‘रसिक’ साहित्य प्रतिष्ठान इटहरीका अग्रज साहित्यकार जी.बी. लुगुन, वीरश राई, धरणीधर दाहाल, पीताम्बर भोला लम्साल, लेखनाथ घिमिरेलगायतको पहल र प्रयत्नबाट वि.सं. २०५२ सालमा स्थापना भएको साहित्यिक संस्था हो। प्रतिष्ठान वि.सं. २०५८ सालमा जिल्ला प्रशासन कार्यालय, सुनसरी, इनरुवामा दर्ता भएको थियो।
प्रतिष्ठानले इटहरीलाई केन्द्र बनाएर विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको अध्यक्ष केशवकुमार सुनामले बताए। अच्छा राई ‘रसिक’को साहित्यिक योगदानलाई नयाँ पुस्तामाझ पुर्याउने तथा बहुभाषिक साहित्य र सिर्जनालाई प्रोत्साहन गर्ने उद्देश्यले स्मृति दिवसका अवसरमा कार्यक्रम आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष केशवकुमार सुनाम र सचिव जीवनकुमार राईद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।














