इटहरी । इटहरी उपमहानगरपालिकाले कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि लागू गरेको स्थानीय पाठ्यपुस्तक ‘इटहरीको सेरोफेरो’ माथि गम्भीर प्रश्न उठाउँदै यसको पठनपाठन तत्काल रोक्न माग गरिएको छ।
स्थानीय स्तरमा तयार पारिएको उक्त पुस्तकमा तथ्यहीन, असत्य, भ्रामक तथा कपोलकल्पित सामग्री समावेश गरिएको भन्दै पाँच जना व्यक्तिले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले पुस्तकमा इटहरीको इतिहास, सामाजिक तथा शैक्षिक क्षेत्र, साहित्य, व्यवसाय र विभिन्न संघ–संस्थासँग सम्बन्धित विषयलाई गलत तथा अपमानजनक ढंगले प्रस्तुत गरिएको आरोप लगाएका छन्।
विज्ञप्तिमा पुस्तकमा भाषिक तथा व्याकरणिक त्रुटिसमेत रहेको उल्लेख गरिएको छ। पुस्तकमा मानक भाषाको प्रयोग नभएको र कतिपय स्थानमा शब्द चयन तथा वाक्य संरचनासमेत त्रुटिपूर्ण रहेको उनीहरूको दाबी छ।
उनीहरूका अनुसार पुस्तकमा इटहरीको इतिहासलाई समेत तोडमोड गरिएको छ। इटहरीको सञ्जाल, साहित्यिक तथा शैक्षिक संस्था, व्यवसायी र व्यावसायिक संस्थाका साथै समाजसेवी, सामाजिक संस्था, साहित्यकार, साहित्यिक संस्था तथा पत्रकारिताको समेत अपमान गरिएको विज्ञप्तिमा उल्लेख छ। महाकाव्यकार पीताम्बर भण्डारी, लीलाधर दाहाल र जीवि लुगुनजस्ता व्यक्तित्वको नामसमेत उल्लेख गर्न पुस्तकले लाज मानेको जस्तो देखिएको उनीहरूको आरोप छ।
विज्ञप्तिमा पुस्तकमा राजनीतिक दल तथा राजनीतिक गतिविधिसम्बन्धी विषयवस्तु पनि समावेश गरिएको भन्दै आपत्ति जनाइएको छ। प्रदेश ट्राफिक कार्यालयलाई ‘क्षेत्रीय ट्राफिक’का रूपमा उल्लेख गरिएको तथा इटहरीलाई चालक र सहचालक अर्थात् ‘डाइभर र खलासी’ जमघट हुने चोकका रूपमा चित्रण गरिएको विषयलाई पनि उनीहरूले गलत र आपत्तिजनक भनेका छन्।
पुस्तकमा ‘सरस्वती सदन’ विद्यालयको नाम परिवर्तन गरी ‘सरस्वती सदन’ लेखिएको, इटहरीको बसोबास तथा विकासक्रमसम्बन्धी विवरणमा समेत तथ्यगत कमजोरी रहेको विज्ञप्तिमा उल्लेख छ। यस्ता विषयले विद्यार्थीलाई गलत सूचना दिने भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
विज्ञप्तिमा इटहरी उपमहानगरपालिकाले तयार पारेको पुस्तक विद्यालयहरूमा प्रयोग भइरहेको भए पनि उपमहानगरपालिकाको नेतृत्व वर्ग र शिक्षा शाखाले पुस्तकको विषयवस्तुबारे पर्याप्त अध्ययन तथा निगरानी नगरेको प्रश्न उठाइएको छ।
उनीहरूले आगामी दिनमा इटहरीको अस्तित्व, इतिहास र विविध पक्षलाई समेटेर स्थानीय पाठ्यक्रम तयार गर्दा इटहरीसँग भिजेका तथा सम्बन्धित विषयका जानकारहरूसँग परामर्श गर्नुपर्ने बताएका छन्। साथै सम्बन्धित विज्ञहरूसँग छलफल तथा अन्तर्वार्ता लिएर विषयविज्ञमार्फत पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार गर्न सुझाव दिएका छन्।
संयुक्त विज्ञप्तिमा कृष्णविनोद लम्साल, लेखनाथ घिमिरे, कृष्णप्रसाद अधिकारी, बद्रीप्रसाद पोखेल र लक्ष्मण निरौलाले हस्ताक्षर गरेका छन्।
उनीहरूले गलत सन्देश दिने पुस्तकको पठनपाठन तत्काल बन्द गरी त्यसको कारणी तथा दोषीमाथि आवश्यक कारबाही गर्नसमेत माग गरेका छन्।














