स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

कक्षा ६–८ मा ‘इटहरीको सेरोफेरो’ पाठ्यपुस्तक नपढाउन इटहरी उपमहानगरको आग्रह

इटहरी । इटहरी उपमहानगरपालिकाले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई ‘इटहरीको सेरोफेरो’ नामक अनधिकृत पाठ्यसामग्री अध्यापन नगर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई आग्रह गरेको छ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सूचना जारी गर्दै नगरपालिकाबाट स्वीकृति नलिएका सामग्री अध्यापन भइरहेको पाइएपछि त्यस्ता सामग्री प्रयोग नगर्न आग्रह गरेको हो।

नगरपालिकाले यसअघि सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ देखि ५ सम्मका लागि ‘इटहरीको सेरोफेरो’ नामक पाठ्यपुस्तक निःशुल्क वितरण गरेको जनाएको छ। कक्षा १–५ को उक्त पाठ्यपुस्तकको दोस्रो संस्करण केही समयपछि पुनः वितरण गरिने सूचनामा उल्लेख छ।

त्यसैगरी, कक्षा ६–८ को पाठ्यपुस्तक लेखन कार्य अन्तिम चरणमा रहेको नगरपालिकाले जनाएको छ। तर, केही विद्यालयमा इटहरी उपमहानगरपालिकाबाट स्वीकृति नलिई ‘इटहरीको सेरोफेरो कक्षा ५’ (स्रोत सामग्री) लगायतका विभिन्न अनधिकृत सामग्री पठनपाठन भइरहेको स्थलगत अनुगमनका क्रममा पाइएको जनाइएको छ।

नगरपालिकाले स्वीकृति नलिएका सामग्री अध्यापन गर्दा निर्धारित पाठ्यक्रमअनुसारको सिकाइ उपलब्धि हासिल गर्न कठिन हुने तथा मूल्याङ्कनमा समेत समस्या आउन सक्ने जनाएको छ। त्यसैले विद्यालयहरूले अनधिकृत सामग्री पठनपाठन नगर्न र नगरपालिकाबाट स्वीकृत पाठ्यक्रम तथा सामग्री मात्र प्रयोग गर्न आग्रह गरिएको छ।

स्थानीय विषयवस्तुमा आधारित पाठ्यक्रमलाई व्यवस्थित रूपमा कार्यान्वयन गर्ने उद्देश्यले नगरपालिकाले कक्षा ६–८ का लागि ‘इटहरीको सेरोफेरो’ पाठ्यपुस्तक तयार गरिरहेको जनाएको छ।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *