विराटचोक । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको ब्रान्ड हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। एक्स्पो आगामी साउन ३१ गते मोरङको विराटचोकस्थित नेपालरिका होटलमा आयोजना हुने भएको हो।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहित आधुनिक सुरक्षा प्रणालीका क्षेत्रमा काम गर्दै आएको हिकभिजनका नयाँ उत्पादन तथा प्रविधि एक्स्पोमा प्रदर्शनीमा राखिने नेपालका लागि आधिकारिक वितरक म्याक्सिमा मल्टी नेशनल ट्रेडिङ प्रालिका प्रमुख मनिकुमार तामाङले जानकारी दिए।
उनका अनुसार एक्स्पोमा घरेलु तथा साना व्यवसायका सुरक्षा प्रणाली, एकीकृत ट्राफिक व्यवस्थापन, व्यावसायिक अडियो व्यवस्थापन, प्रदर्शनी तथा शैक्षिक संस्था व्यवस्थापनसम्बन्धी प्रविधि, अग्रिम जानकारी दिने अलार्म सुरक्षा प्रणाली, ताररहित घर सुरक्षा प्रविधि तथा नवीनतम उत्पादनसहित ८ वटा स्टल रहनेछन्।
एक्स्पोमा पछिल्लो समय देखिएका विभिन्न सुरक्षा चुनौतीलाई आधुनिक प्रविधिले कसरी सहज र प्रभावकारी बनाउन सक्छ भन्ने विषयमा विज्ञहरूले जानकारी दिने आयोजकले जनाएको छ। सहभागीले हिकभिजनका नयाँ प्रविधि तथा सुरक्षा समाधानलाई प्रत्यक्ष रूपमा अवलोकन गर्नुका साथै आवश्यक जानकारीसमेत लिन सक्नेछन्।
कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको एक्स्पोको व्यवस्थापन एल्पनाइन टेक्नोलोजिज विराटनगर, प्यारागन आईटी सोलुसन इटहरी, आरएस कम्प्युटर दमक र तेजस्वी कम्प्युटर सपोर्ट बिर्तामोडले गरिरहेका छन्।
एक्स्पोले व्यवसायिक तथा घरेलु सुरक्षा प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुग्ने एल्पनाइन टेक्नोलोजिजका सञ्चालक सुरज ढुंगानाले बताए। उनका अनुसार पछिल्लो समय सुरक्षा चुनौती बढ्दै गएकाले आधुनिक प्रविधिको प्रयोग र त्यसबारेको जानकारी सर्वसाधारण तथा व्यवसायीका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।














