काठमाडौँ । मधेशको सामाजिक परिवेश, संघर्ष, सम्बन्ध, पीडा र बदलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म ‘प्रतिवैरम्’को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरसँगै फिल्मको रिलिज मिति पनि घोषणा गरिएको छ। फिल्म आगामी मङ्सिर ४ गतेदेखि देशभरका फिल्म हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।
सार्वजनिक पोस्टरमा फिल्मको गम्भीर तथा एक्सनप्रधान कथावस्तुलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। पोस्टरको पृष्ठभूमिमा दन्किरहेको आगोको ज्वालाले संघर्ष र बदलाको भाव झल्काएको छ भने केन्द्रमा मुख्य पात्र सम्राट दासलाई रगताम्मे, आक्रामक र निडर अवतारमा देखाइएको छ।
सम्राटले परम्परागत मधेसी पहिरनमा रहेकी प्रमुख महिला पात्र सुप्रज्ञा शर्मालाई अङ्गालोमा सुरक्षित राख्न खोजेको देखिन्छ। सुप्रज्ञाको अनुहारमा रगतका छिटा र भावुक भावले फिल्ममा एक्सनसँगै प्रेम, पारिवारिक सम्बन्ध र प्रतिशोधको कथा पनि जोडिएको संकेत गर्छ।
रेज इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्म सिम्पल एड मिडिया, श्रीयन इन्टरटेनमेन्ट तथा आदर्श प्रोडक्सन्सको सहकार्यमा तयार भएको हो। फिल्मको कथा लेखन तथा निर्देशन रोशन दासले गरेका छन् भने पटकथा तथा संवाद युवराज भट्टराईको रहेको छ। फिल्मका निर्माता सत्यराज चौलागाईं ‘एसआरसी’ र हर्ष कुमार यादव हुन्।
को-प्रोड्युसरमा अनिश पोखरेल, एक्जिक्युटिभ प्रोड्युसरमा विक्की साह तथा क्रिएटिभ प्रोड्युसरमा राकेश साह रहेका छन्। छायांकन कृष्ण बर्देवा ‘ज्याक’, सम्पादन कबिर ओड र रङ संयोजन श्याम कुँवरले गरेका छन्।
‘प्रतिवैरम्’मार्फत सम्राट दासले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन्। फिल्ममा उनीसँगै वीरेन्द्र सिंह कुशवाहा, अलिशा बास्तोला, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, प्रदीप ढकाल, नवीन श्रेष्ठ र नारायण बी.क. लगायतका कलाकारको अभिनय रहेको निर्माण पक्षले जनाएको छ।

फिल्मको अर्को विशेषता यसको बहुभाषिक प्रस्तुति हो। ‘प्रतिवैरम्’ नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा दर्शकमाझ आउनेछ। मधेशको कथा र भावनालाई मैथिली तथा भोजपुरी भाषामार्फत मधेशका विभिन्न क्षेत्रका दर्शकसम्म पुर्याउने लक्ष्य निर्माण पक्षको छ। साथै, हिन्दी संस्करणमार्फत सीमावर्ती भारतीय बजार तथा हिन्दी भाषी दर्शकमाझ फिल्मको पहुँच विस्तार गर्ने योजना निर्माण टिमले बनाएको छ।













