स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

नेपाल मानव धर्म सेवा समितिद्वारा प्रकाशपुरमा श्री सुयशजी महाराजको जन्मोत्सव भव्य रूपमा सम्पन्न

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरमा नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्र आश्रमअन्तर्गत शाखा आश्रम प्रकाशपुरको आयोजनामा परमपूज्य श्री सुयशजी महाराजको पावन जन्मोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापतित्व कोशी क्षेत्र प्रभारी पूजनीय महात्मा गिरि बाइजीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की सहभागी हुनुभएको थियो। कार्यक्रममा नेपाल मानव धर्म सेवा समिति कोशी क्षेत्र आश्रमका पदाधिकारी, स्थानीय समाजसेवी, शैक्षिक तथा धार्मिक व्यक्तित्व, सुरक्षाकर्मी, सञ्चारकर्मी, धार्मिक कलाकार तथा समितिका शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन अनुस्का खनालले गर्नुभएको थियो।

शाखा आश्रम प्रकाशपुरकी अध्यक्ष सीता कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख रमेश कार्कीले नेपाल मानव धर्म सेवा समितिले गर्दै आएको धार्मिक तथा सामाजिक कार्यप्रति आफू सधैँ सकारात्मक रहेको बताउनुभयो। यस्ता धार्मिक गतिविधिले समाजमा अनुशासन, सद्भाव र सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। नगरप्रमुख कार्कीले आश्रम प्रकाशपुरलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

जन्मोत्सवका अवसरमा दीप प्रज्वलन, स्वयंसेवक दलको सलामी, सत्सङ्ग तथा भजन, आत्मानुभूतिमूलक विचार, प्रेरणादायी प्रवचन र बालबालिकाहरूको नृत्य प्रस्तुत गरिएको थियो।

कार्यक्रमको समापन गर्दै सभापति महात्मा गिरि बाइजीले नेपाल मानव धर्म सेवा समिति धार्मिक तथा सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो। समितिले प्रत्येक वर्ष महान् सत्सङ्ग समारोहलगायत विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी, स्वयंसेवक तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी अतिथिहरूलाई सम्मानस्वरूप मायाको चिनोसमेत प्रदान गरिएको थियो।

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *