उर्लाबारी । मोरङ जिल्लाको सबैभन्दा अग्लो स्थानका रूपमा परिचित मिक्लाजुङ डाँडा समुद्री सतहबाट २ हजार ४सय १० मिटर उचाइमा रहेको छ। जिल्ला समन्वय समिति मोरङको आधिकारिक जिल्ला पार्श्वचित्रले पनि जिल्लाको उचाइ समुद्री सतहबाट करिब ६० मिटरदेखि २ हजार ४१० मिटरसम्म रहेको उल्लेख गरेको छ।
मोरङको उत्तरपूर्वी क्षेत्रमा पर्ने मिक्लाजुङ डाँडा महाभारत पर्वत शृङ्खलाअन्तर्गतको महत्वपूर्ण पहाडी तथा पर्यटकीय क्षेत्र हो। मिक्लाजुङ गाउँपालिकाको आधिकारिक विवरणमा समेत गाउँपालिकाको नामकरण समुद्री सतहबाट २ हजार ४सय १० मिटर उचाइमा रहेको मिक्लाजुङ टाकुराको नामबाट भएको उल्लेख छ।
सरकारी विवरणअनुसार मिक्लाजुङ डाँडाबाट धनकुटा, पाँचथर, इलाम, झापा र मोरङका विभिन्न भूभाग अवलोकन गर्न सकिन्छ। यहाँबाट सूर्योदय तथा सूर्यास्तको मनोरम दृश्य हेर्न सकिने र गुराँस फुल्ने मौसममा पहाडको प्राकृतिक सौन्दर्य थप आकर्षक बन्ने उल्लेख गरिएको छ।
मिक्लाजुङ क्षेत्र प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। स्थानीय परम्पराअनुसार मिक्लाजुङ टाकुरा धार्मिक स्थलका रूपमा पूजाआजा गरिँदै आएको देखिन्छ ।
मोरङको दक्षिणी भूभाग समथर तराईमा फैलिएको भए पनि उत्तरी क्षेत्रमा उच्च पहाडी भूभाग रहेको छ। जिल्लाको सबैभन्दा न्यून उचाइ करिब ६० मिटर र उच्चतम उचाइ २ हजार ४सय१० मिटर रहेको जिल्ला समन्वय समिति मोरङको विवरणले देखाउँछ।

त्यसैले २हजार ४सय१० मिटर उचाइको मिक्लाजुङ डाँडा मोरङ जिल्लाको भौगोलिक रूपमा सबैभन्दा अग्लो क्षेत्र मात्र नभई पर्यटनको महत्वपूर्ण सम्भावना बोकेको गन्तव्यसमेत हो।अहिले यश भेगको रमिते डाँडामा आन्तरिक पर्यटकहरूको घुइँचो बढेको छ। अत्यन्त चिसो हुने भएकाले पनि यतिखेर पर्यटकहरु यस क्षेत्रमा आउने क्रम बढ्दो रहेको मिक्लाजुङ-१ का अध्यक्ष पर्वत राईले बताएका छन् ।













