विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच केन्द्रीय तहमा भएको तीनबुँदे सहमतिपछि नेकपा कोशी प्रदेश सरकारमा सहभागी भएको छ।
प्रदेश प्रमुख परशुराम खापुङले आज नेकपाबाट नियुक्त ४ मन्त्री र १ राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। २०८१ साल वैशाख २७ गते गठन भएको प्रदेश मन्त्रिपरिषद्मा केन्द्रमा भएको सहमतिअनुसार नेकपा सहभागी भएको हो।
यसअघि प्रदेश सरकारमा गठबन्धनका तर्फबाट सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि नयाँ राजनीतिक समीकरण बनेको हो।
नेकपाबाट खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण मन्त्री, जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्री, गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानून मन्त्री र गीता तिम्सिनालाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइएको छ। यस्तै, सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरिएको छ।
नेकपा सरकारमा सहभागी भएसँगै एमालेबाट सरकारमा रहेका केही मन्त्रीहरूको जिम्मेवारीमा समेत हेरफेर गरिएको छ।














