इटहरी । लियो क्लब अफ तरहरा इटहरीका प्रथम उपाध्यक्ष हृतिक कार्कीले आफ्नो जन्मदिन सामाजिक सेवामार्फत मनाएका छन्। जन्मदिनको अवसर पारेर उनले माया घर नेपाल, इटहरी–२ मा आश्रित व्यक्तिहरूलाई खाना वितरण गरेका हुन्।
जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा माया घर नेपालमा आश्रितहरूलाई खाना खुवाउनुका साथै उनीहरूसँग केही समय बिताइएको थियो। व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्दै असहाय तथा संरक्षणको आवश्यकता रहेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता लियो क्लब अफ तरहरा इटहरीका अध्यक्ष युगल बजगाईंले गरेका थिए भने लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सीका एरिया चिफ दुर्गाप्रसाद पौडेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै प्रथम उपाध्यक्ष हृतिक कार्कीले जन्मदिनलाई फरक र अर्थपूर्ण ढंगले मनाउने सोचका साथ माया घरका आश्रितलाई खाना खुवाउने कार्यक्रम आयोजना गरिएको बताए।
“जन्मदिन हरेक वर्ष आउँछ। यसलाई आफ्ना लागि मात्र नभई अरूको अनुहारमा पनि खुसी ल्याउने अवसरका रूपमा मनाउनुपर्छ भन्ने सोचले माया घरमा आएर सहयोग गरेका हौँ,” कार्कीले भने, “यहाँ आश्रित दाजुभाइ तथा दिदीबहिनीलाई खाना खुवाउन पाउँदा निकै खुसी र आत्मसन्तुष्टि मिलेको छ।”
उनले आगामी दिनमा पनि आफ्नो क्षमता र परिस्थितिअनुसार सामाजिक सेवाका गतिविधिमा जोडिन चाहेको बताए। जन्मदिन वा अन्य विशेष अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्न सके समाजमा सकारात्मक सन्देश जाने उनको भनाइ थियो।
कार्यक्रमका अध्यक्ष तथा लियो क्लब अफ तरहरा इटहरीका अध्यक्ष युगल बजगाईंले युवाहरूले आफ्नो खुसीलाई सामाजिक सेवासँग जोड्नु सकारात्मक संस्कार भएको बताए। उनले क्लबले युवाहरूलाई सामाजिक कार्यमा सक्रिय बनाउँदै समुदायमा आवश्यक सहयोग पुर्याउने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको उल्लेख गरे।
“हामीले गर्ने सानो सहयोगले पनि कसैको दिनमा ठूलो खुसी ल्याउन सक्छ। त्यसैले विशेष अवसरलाई सामाजिक सेवासँग जोड्ने संस्कारको विकास गर्न आवश्यक छ,” बजगाईंले भने।
त्यस्तै, प्रमुख अतिथि लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सीका एरिया चिफ दुर्गाप्रसाद पौडेलले जन्मदिनको अवसरमा माया घरका आश्रितलाई खाना खुवाउने कार्य प्रशंसनीय रहेको बताए। उनले युवाहरू सामाजिक सेवामा सक्रिय हुनु समाजका लागि सकारात्मक पक्ष भएको उल्लेख गर्दै यस्ता कार्यले मानवीय भावना र सेवाको संस्कारलाई थप बलियो बनाउने बताए।
माया घर नेपालकी अध्यक्ष शुभद्रा प्याकुरेलले माया घरका आश्रितहरूलाई सहयोग गरेकोमा लियो क्लब र हृतिक कार्कीप्रति आभार व्यक्त गरिन्। उनले विभिन्न व्यक्ति तथा संस्थाले गर्ने सहयोगले माया घरमा आश्रितहरूको दैनिक जीवनमा ठूलो सहयोग पुग्ने बताइन्।
“माया घरमा रहेका आश्रितहरूलाई सम्झेर विशेष अवसरमा यहाँ आएर सहयोग गर्नु आफैँमा ठूलो मानवीय कार्य हो। उहाँहरूले दिनुभएको माया, समय र सहयोगले आश्रितहरूलाई पनि अपनत्वको अनुभूति हुन्छ,” प्याकुरेलले भनिन्।
जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक सेवासँग जोडेर मनाइएको उक्त कार्यक्रमले ‘आफ्नो खुसी अरूसँग बाँड्दा खुसी अझ अर्थपूर्ण हुन्छ’ भन्ने सन्देश दिएको छ। लियो क्लब अफ तरहरा इटहरीले आगामी दिनमा पनि सामाजिक, मानवीय तथा समुदाय केन्द्रित गतिविधिलाई निरन्तरता दिने जनाएको छ।














